विवाहपँचमीः आज जानकीको मटकोर, महोत्सवमा मास्क अनिवार्य
नेपाल र भारतमा कोरोना भाइरसको ओमिक्रोन नामक नयां भेरियन्ट समेत फेला परेको हुनाले सचेतना अपनाइएको प्रजिअ बास्तोलाले बताए । मास्क नहुने श्रद्धालुलाई नाका र जनकपुरधाम प्रवेश गर्ने ठाउं–ठाउंमा सुरक्षाकर्मीहरुले मास्क उपलब्ध गराउने उनले बताए ।

२०७८ मंसिर २१ मंगलबार, बिहान ९:५० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा जारी विवाहपँचमी महोत्सव २०७८ को पाँचौ दिन मटकोर विधि हुने भएको छ ।
त्रेता युगमा जगत जननी जानकीको रामसँग विवाह भएको विधि अनुसार सो अघि गरिने विभिन्न विधि विधान अन्तर्गत पाँचौ दिन मँगलबार मटकोर विधि गरिने भएको छ ।
मटकोरको लागि यसपाली कमला नदी र गँगासागर पोखरीमा श्रद्धालुहरु जाने भएको छ । जानकी मन्दिरबाट हुने मटकोर विधि जनकपुरकै गँगा सागरमा हुने भएको छ भने एक टोली पवित्र कमला नदीमा जाने भएको छ ।
कमला नगरपालिकाको मडान कुम्भ घाटमा आज दिउँसो जानकीको मटकोर कार्यक्रम हुने बताइएको छ । आज शोभायात्रा निकाल्दै मडानको कुम्भ घाटमा जानकीको मटकोर विधि सम्पन्न हुने जनाइएको छ ।
यस्तै, जनकपुरधाममा जारी सीताराम विवाहोत्सव मेलामा सहभागीलाई अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्देशन जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा भीड हुने भएको र भीडमा कोरोना संक्रमणले महामारीको रुप लिन सक्ने सम्भावनालाई मध्ये नजर गर्दै मेला भर्नेले अनिवार्य मास्क लगाउनु पर्ने निर्देशन जारी गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कोरोना महामारी फैलिन नदिन मास्क अनिवार्य गरिएको जनाएका छन् ।
महोत्सवमा सहभागी हुन नेपालको विभिन्न जिल्ला तथा भारतबाट आएका श्रद्धालुलाई करिब चार लाख मास्क वितरण गर्ने तयारी समेत प्रशासनले गरेको उनले जनाए ।
महोत्सवको क्रममा पञ्चमीका दिन भारत र नेपालबाट हजारौंको भीडमा सहभागी हुन आउने भन्दै संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै मास्क अनिवार्य गरिएको हो ।
नेपाल र भारतमा कोरोना भाइरसको ओमिक्रोन नामक नयां भेरियन्ट समेत फेला परेको हुनाले सचेतना अपनाइएको प्रजिअ बास्तोलाले बताए । मास्क नहुने श्रद्धालुलाई नाका र जनकपुरधाम प्रवेश गर्ने ठाउं–ठाउंमा सुरक्षाकर्मीहरुले मास्क उपलब्ध गराउने उनले बताए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा नेपाल रेडक्रस सोसाइटी लगायत सामाजिक संघ संस्थाले हेल्थ डेस्क राख्ने र निःशुल्क मास्क वितरण गर्ने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…