जनकपुरमा ५१ जोडीको बिहे गराइने, कपडासहित मँगलसुत्र समेत दिइने
हिन्दु परम्परा अनुसार, विवाहपँचमीमा विवाहीक बन्धनमा बाँधिएपछि शुभशुभ हुने जनविश्वास छ ।

२०७८ मंसिर १३ सोमबार, बेलुकी ७:१७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित आउँदो विवाहपँचमीमा ५१ जोडीको सामुहिक विवाह समारोह आयोजना हुने भएको छ ।
आगामी मँसिर २२ गते मनाइने विवाहपँचमीको भोलीपल्ट मँसिर २३ गते जानकी मन्दिरको प्राँगनमै ५१ जोडीको सामुहिक विवाह आयोजन हुन लागेको बताइएको छ ।
विश्व हिन्दु परिषदले गरिब, निमुखालाई प्राथमिकतामा राखी विवाहपँचमीमा सामुहिक वैवाहिक कार्यक्रम राखेको हो । प्रत्येक जोडीको विवाहमा २५ जना जन्ती समेत ल्याउन विश्व हिन्दु परिषदले आग्रह गरेको छ ।
बेहुला र बेहुलीको सबै खर्च सहित जन्ती व्यवस्थापन समेत विश्व हिन्दु परिषदले नै गर्ने परिषदका युवा सँयोजक मोहन साहले जानकारी दिए । उनका अनुसार, बेहुला र बेहुलीलाई लाग्ने सबै कपडा, गहनाहरु पनि निःशुल्क परिषदले नै उपलब्ध गराउने जनाइएको छ ।
मँसिर २३ गते आयोजना हुने सामुहिक विवाह कार्यक्रममा जन्ती सहित बेहुला बेहुलीलाई रथमा राखेर नगर परिक्रमा समेत गराउने भएको छ । बाजागाजा सहित साँझ ५ बजेदेखि सामुहिक विवाहको कार्यक्रम सुरु हुने साहले जानकारी दिए ।
त्यसअघि विवाहको लागि जनकपुर आउने जन्तीलाई दिउँसो १२ बजे देखि २ बजेसम्म खानाको व्यवस्था गरिने भएको छ । दिउँसो २ बजेपछि जन्ती र बेहुलाहरुलाई नगर परिक्रमा गराउने योजना राखिएको छ ।
वरमाला र स्वयँवर साँझ ५ बजे तथा विवाह शुभ मुहुर्त बेलुकी ६ बजे तय गरिएको साहले जानकारी दिए । जानकी मन्दिरको प्राँगनमै हुने सो सामुहिक विवाहको लागि विश्व हिन्दु परिषद्ले चन्दा सँकलन गरेको बताइएको छ ।
एउटा जोडीको विवाहको खर्च कम्तीमा पनि ५० हजार रुपैयाँ हुन आउने भन्दै युवा सँयोजक साहले ५१ जोडीको लागि कम्तीमा २५ लाख रुपैयाँ खर्च हुने बताए । उनले विवाहको कपडा, सजाबट, मेकअपको समान, मँगलसुत्र, गहना गरी एक जनामा कम्तीमा ५० हजार खर्च हुन आउने बताउँदै चन्दा सँकलन समेत गरिएको बताए ।
गरिब, निमुखा, असहायकी छोराछोरीलाई आदर्श विवाह गराउने योजना रहेको छ । यसका साथै, पहिले नै घरदेखि (बरतुहारी) गरि सकेको र विवाह तय भएको जोडीलाई समेत सामुहिक विवाहमा सहभागी गराइने भएको छ ।
विश्व हिन्दु परिषद जिल्ला कार्य समिति धनुषाले आयोजना गर्न लागेको सो सामुहिक विवाहमा जानकी मन्दिरको प्राँगनमा विवाह गर्ने जोडीहरुको लर्को लाग्ने गरेको छ । ५१ जोडी अनुमान गरिएपनि सयौँ जोडी विवाहको लागि सो दिन आउने गरिन्छ ।
त्रेता युगमा भगवान राम र जानकीको विवाह सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा धुमधामका साथ मनाइने विवाहपँचमी महोत्सवमा प्रायः जोडीहरुको विवाह गर्ने गरिन्छ । हिन्दु परम्परा अनुसार, विवाहपँचमीमा विवाहीक बन्धनमा बाँधिएपछि शुभशुभ हुने जनविश्वास छ ।
विश्व हिन्दु परिषद जिल्ला कार्य समिति धनुषाले विवाहपँचमीमा विवाह गर्न चाहने जोडीको अभिभावक वा जोडीले आफैँ पनि फाराम भर्नुपर्ने बताएको छ । जसमा पूरा नाम, नागरिकता नम्बर, उमेर २० बर्ष कम्तीमा पुगेको हुनुपर्ने, जन्मदर्ता प्रमाणपत्र वा कुनै सर्टिफिकेट, बुवाको नाम, आमाको नाम, ठेगाना, शैक्षिक योग्यता पेशा र मोबाईल नम्बर समेत राखिने भएको छ ।
जन्तीको सबै व्यवस्थापन समेत परिषदले गर्ने भएको छ । वैवाहिक कार्यक्रममा जन्ती गएको बेला कुनै प्रकारको उच्ृछँगल गतिविधि गरेमा कारवाही समेत गरिने जनाइएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…