जनकपुरः 'भूतमेला' को लागि हजारौ हजारको सँख्यामा श्रद्धालुहरु कमला प्रस्थान
कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । भारतसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।

२०७८ मंसिर २ बिहीबार, बेलुकी ७:४६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा विहिबार दिउँसोदेखि नै धामीझाँक्री, बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको छ ।
कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लाग्ने गरेको छ । विहिबार दिउँसैदेखि सुरु भएको कमला स्नानको यात्राको लागि हजारौ हजारको सँख्यामा श्रद्धालुहरु कमला प्रस्थान गरेको छ ।
नेपालको विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतको विभिन्न स्थानबाट हजारौको सँख्यामा श्रद्धालुहरु आउने क्रम जारी छ । जनकपुरधामदेखि कपिलेश्वर हुँदै हुलाकी राजमार्गमा कमला नदीसम्म ट्रयाक्टर, गाडी, रिक्सा, बसको लाईन लागेको छ । हजारौँको सँख्यामा गाडीहरु लाखौँको सँख्यामा श्रद्धालुहरु कमला नदीमा जाने क्रम जारी रहेको छ ।
धामी, झाँक्री, भूत प्रेतबाट पीडितहरुले कमला स्नान गर्न जाने जनविश्वास रहिआएको छ । भोली शुक्रबार बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिनेछ ।
कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लाग्ने गरेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन छ ।
कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बस्ने र भोली विहानै स्नान गरी घर फर्केनेछ । कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको सङ्ख्या अत्यधिक रहने गरेको छ ।
भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ ।
कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । भारतसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायत ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…