माओवादीको कब्जामा नआएसम्म मधेशको कल्याण हुँदैनः प्रचण्ड
‘चुरे दोहन गर्ने, गिट्टी बालुवा झिकेर विदेश बेच्ने निती खलनायकको थियो, केपी ओलीको। हामीले त्यसलाई रोक्यौँ। अब छिट्टै चुरे संरक्षणको लागि विस्तृत योजना ल्याउँछौँ’ उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन।’

२०७८ मंसिर १ बुधबार, बेलुकी ६:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश नम्बर २ माओवादीको कब्जामा नआएसम्म कल्याण नहुने दाबी गरेका छन् । उनले अगामी चुनावमा आफ्नो पार्टी प्रदेश २ कै नम्बर एक पार्टी हुने दाबी गरेका छन्।
महोत्तरीको रामगोपालपुरमा आधारभूत स्वास्थ्यचौकीको उद्घाटन तथा आमसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ को नम्बर एक पार्टी माओवादी हुनलाई कसैले रोक्न नसक्ने बताएका हुन्।
उल्लेख्य संख्यामा आमसभामा सहभागी नेता कार्यकर्ताले आफू उत्साहित भएको भन्दै प्रचण्डले भने, ‘महोत्तरी जिल्लाका सबका सब निर्वाचन क्षेत्र र प्रदेश नम्बर २ मा एक नम्बर पार्टी माओवादी केन्द्र हुने छ। यसलाई कसैले रोक्न सक्ने छैन।’
प्रदेश २ माओवादी केन्द्रको कब्जामा नआएसम्म मधेशको कल्याण नहुने उनको भनाइ छ।
अर्को प्रशंगमा उनले आफू गठबन्धनमा सबैभन्दा शक्तिशाली भएको दावी गरे। आफू अहिले प्रधानमन्त्री नरहे पनि प्रधानमन्त्री बनाउने मान्छे समेत आफू रहेको उनले जिकिर गरे।
उनले चुरे दोहनमा राजनीति भएको बताउँदै चुरे दोहन गरेर तराई मधेसलाई मरुभूमि बनाउने नीति केपी ओलीले ल्याए पनि त्यो कार्यान्वयन हुन नदिएको बताए।
‘चुरे दोहन गर्ने, गिट्टी बालुवा झिकेर विदेश बेच्ने निती खलनायकको थियो, केपी ओलीको। हामीले त्यसलाई रोक्यौँ। अब छिट्टै चुरे संरक्षणको लागि विस्तृत योजना ल्याउँछौँ’ उनले भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन।’
प्रचण्डले संविधान संशोधनको लागि प्रयास गरेपनि ओलीले हुन नदिएको आरोप लगाए। अब संविधान संशोधनमा कसैले धोकाधडी गरे फेरि सडकबाट त्यसलाई गलहत्याइने चेतावनी समेत दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…