जनकपुरको हिन्दु–मुस्लिम विवादमा ७ बुँदे सहमति, निषेधाज्ञा हटाउने तयारी
अहिले देवपुरा रुपैठाको चारकिल्लाभित्र कुनै पनि सभा, सेमिनार, रयाली, जुलुस गर्न रोक लगाएको छ ।

२०७८ कार्तिक २९ सोमबार, बेलुकी ५:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामको देवपुरा रुपैठामा भएको हिन्दु–मुस्लिम समुदायबीचको विवादबीच ७ बुँदे सहमति भएको छ ।
सोमबार देवपुरा रुपैठामा दुई समुदाय बीच भएको झडप साम्य गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धनुषामा दुई पक्षबीच सात बुँदे सहमति भएको हो ।
विवादले उग्ररूप लिएपछि जनकपुरधामको वडा नम्बर २० स्थित देवपुरा रुपैठामा मंगलबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
अहिले देवपुरा रुपैठाको अवस्था समान्य र नियन्त्रणमा रहेको बताउँदै धनुषाका प्रहरी प्रमुख बसन्त रजौरेले प्रशासनसँग ७ बुँदे सहमति भएको बताए । उनले निषेधाज्ञा हटने वा नहटने बारे प्रमुख जिल्ला अधिकारीले मात्र भन्ने सकिने बताए ।
त्यहाँस्थित रहेको तेलिया पोखरीमा छठको दिन घाट निर्माणको विषयलाई लिएर दुई समुदाय बीच भएको विवादले उग्ररुप लिँदा झडप भएको थियो । झडप अनियन्त्रित भएपछि स्थानीय प्रशासनले जनकपुरधामको रुपैठामा निषेधाज्ञा लगाएको छ ।
स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग व्यापक छलफलपछि सोमबार सात बुँदे सहमति भएको हो । सहमति भएसँगै रुपैठाको अवस्था अहिले साम्य भएको छ ।
सहमतिमा तेलिया पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, सो पोखरीको सम्पूर्ण व्यवस्थापन पालिकाले नै रेखदेख तथा संरक्षण गर्ने, धार्मिक सद्भाव कायम राख्ने, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख रिता मिश्रको संयोजकत्वमा सहमति कार्यान्वयनका लागि दुई पक्षबाट चाररचार सदस्य रहने गरी समिति गठन गरिएको छ ।
छठ पर्व समापनसँगै शुक्रबार एक पक्षले प्रदर्शन गरेपछि रुपैठामा दुई समुदाय बीच झडप भएको थियो । सो झडपमा परी दुई प्रहरीसहित ६ जना घाइते भएका थिए ।
छठकै दिन हिन्दु समुदायका युवकहरुले प्रत्येक वर्ष निकाल्ने धार्मिक रयालीको क्रममा यसपाली मुस्लिम समुदायका केही व्यक्तिहरुले अवरोध पुरयाएपछि झडप भएको थियो । तत्कालै मोटो सँख्यामा प्रहरी परिचालन गरी अवस्थालाई नियन्त्रणमा लिएको थियो ।
अहिले देवपुरा रुपैठाको चारकिल्लाभित्र कुनै पनि सभा, सेमिनार, रयाली, जुलुस गर्न रोक लगाएको छ । यस सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलासँग सम्पर्क गर्न खोज्दा सम्पर्क भने हुन सकेनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…