जनकपुरका मेयर साहको घर अगाडी वडाध्यक्षहरुले थुपारे फोहोर
वडाध्यक्ष जानकीराम साह आफैंले ट्याक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्याएका थिए।

२०७८ कार्तिक १४ आइतबार, बिहान ११:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडी केही वडाध्यक्षहरुले फोहोर थुपारेका छन् ।
दिपावली, छठ आउन लाग्दा पनि जनकपुरको फोहोर व्यवस्थपानमा ध्यान नदिएको भन्दै केही वडाध्यक्षहरुले मेयरकै घर अगाडी फोहोर थुपारेका छन् ।
दिपावली र छठमा जनकपुरमा हुने रौनकलाई मध्यनजर गर्दै पनि उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैनन् । विभिन्न मठ मन्दिर, होटल, ढावा, चोक चौराहामा फोहोर फालिएपनि सफाईको बेला फोहोर व्यवस्थापन नगरेको भन्दै मेयर साहको घर अगाडी सोही फोहोर उठाएर थुपारिदिएका छन् ।
आईतबार विहानै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सत्रुध्न साह, वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरूको टोलीले फोहोर थुपारेका हुन्।
ट्याक्टरमा फोहोर संकलन गरेर वडाध्यक्ष जानकीराम साह आफैंले ट्याक्टर चलाएर नगरप्रमुखको घरसम्म फोहोर पुर्याएका थिए।
डम्पिङ साइटको अभावमा उपमहानगर भित्रको फोहोर दीपावली नजिकिए पनि उठ्न नसकेपछि स्थानीयमा आक्रोश देखिएपछि नगरप्रमुखले फोहोर व्यवस्थापनमा असहयोग गरेकाले त्यो आक्रोश जनप्रतिनिधिमा समेत देखिएको छ।
फोहोर व्यवस्थापनका लागि नगर प्रमुख साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्याक्टरसम्म उपलब्ध नगराएकोले विरोध स्वरुप नगरप्रमुखको घर अगाडि नै फोहोर थुपार्नु परेको वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए।
आफ्नो वडामा आफैं सरसफाइ गरेर फोहोर व्यवस्थापन गर्न लागेको वडा नम्बर ७ का वडाध्यक्ष साहले बताए। अन्य वडाहरुमा भने दैनिक निस्कीने घरको फोहोर, पसलको फोहोर अझै व्यवस्थापन गर्न नसक्दा विभिन्न धार्मिक स्थलहरु पनि फोहोरमय बनेको छ ।
जनकपुरको राजदेवी मन्दिर, जानकी मन्दिर अगाडी, कदमचोक, रामानन्दचोक, पीडारीचोक, पेठिया बजार, टेलिकम रोड सहितको स्थानमा फोहोर अधिक दिनदेखि जस्ताको त्यस्तै राखिएको छ ।
यसअघि पनि जनकपुरका युवाहरुले फोहोर व्यवस्थापन नगरेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडी नै फोहोर थुपारेर विरोध जनाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…