धनुषाको गोठकोयलपुरमा पहलवानी हेर्न ओर्ले सर्वसाधारण
कुस्ती खेलप्रति युवाभन्दा बृद्धहरुमा आकर्षण छ । नेपाल र भारतका पहलवान कुस्ती खेल्न आएका छन् । बिहीवार कुस्ती सम्पन्न हुन्छ ।

२०७८ कार्तिक ११ बिहीबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको वडा नम्बर ९ गोठकोयलपुरस्थित शिव लिङ्ग स्थापनाको अवसरमा बुधवारदेखि पहलवानी सुरु भएको छ ।
धनुषा क्षेत्र २ का संघीय सांसद एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, शहिदनगरका मेयर उदय बरबरिया तथा वडा नम्बर ९ का वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा पहलवानीको उद्घाटन गरे ।
पूर्वमन्त्री अरगरियाले लोपोन्मुख कुस्ती खेल र पहलवानको संरक्षण सरकारले गर्नुपर्ने बताए । उनले राज्यको उदासिनताका कारण कुस्ती लोप हुन लागेकोमा चिन्ता व्यक्त गरे ।
सो क्रममा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले मधेशको पहिचानको रुपमा रहेको कुस्ती र यहाँका पहलवानहरुको अस्तित्व खतरामा रहेको गुनासो गरे । स्थानीय सरकारकै तर्फबाट नगरभित्रका पहलवानहरुलाई व्यवस्थापनको लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए ।

गोठकोयलपुरमा निर्माण भएको महादेव मन्दिरमा कात्र्तिक ७ गते विशाल कलशयात्रा पश्चात शिवलिङ्ग स्थापना गरिएको थियो । खाडी मुलुकमा रहेका यहाँका यूवाहरुको चन्दा सहयोगबाट मन्दिर निर्माण भएको स्थानीय निशान्त यादवले बताए ।
उनका अनुसार शिवलिङ्ग स्थापनाको अवसरमा मेला लागेको छ । मेला समितिले आयोजना गरेको कुस्ती हेर्न बुधबार सर्वसाधारण उर्लिएको देखियो । कुस्ती हेर्न टाढा– टाढाका खेलप्रेमीहरु आएको थियो ।
कुस्ती खेलप्रति युवाभन्दा बृद्धहरुमा आकर्षण छ । नेपाल र भारतका पहलवान कुस्ती खेल्न आएका छन् । बिहीवार कुस्ती सम्पन्न हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…