दुर्गा बिजर्सजनलाई लिएर २४ घण्टाको लागि नेपाल–भारत बोर्डर बन्द
उनकाअनुसार सीमा क्षेत्रमा मदिरा विक्रीवितरणमा रोक लगाउने विषयमा छलफल भई समझदारी भएको छ।

२०७८ असोज २९ शुक्रबार, बेलुकी ७:५३ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, कपिलवस्तु । दुर्गाको मूर्ति बिसर्जनको क्रममा कुनै अप्रिय घटना नहोस भन्ने उदेश्यले नेपाल–भारत बोर्डर २४ घण्टाको लागि बन्द गर्ने निर्णय गरिएको छ ।
भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठकबाट सो निर्णय गरिएको हो । जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेका थिए।
बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा सम्पन्न इण्डो-नेपाल जोइन्ट बोर्डर कोर्डिनेसन मिटिङमा २४ घण्टा सीमा बन्द गर्ने निर्णय भएको छ।
बडादसैँ (दशहरा) को अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार (आज) र शनिबार (भोलि) गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण गर्ने सहमति भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
उनकाअनुसार सीमा क्षेत्रमा मदिरा विक्रीवितरणमा रोक लगाउने विषयमा छलफल भई समझदारी भएको छ।
बैठकमा सीमा अपराध, लागुऔषध ओसारपसार, अवैध हातहतियारको ओसारपसार, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई विशालु औषधि खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रणलगायतका विषयमा अनौपचारिक छलफल भएको प्रहरीले जनाएको छ।
बैठकमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी पाण्डेसहित प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल २८ नं गण हेडक्वाटरका प्रमुख स.प्र.उ ध्रुवबहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तु प्रमुख उपअनुसन्धान निर्देशक योगेन्द्र केसी सहभागी थिए।
त्यसैगरी भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम मिणासहित एसपी यशवीर सिंह, एसएसबी कमाण्डेन्ट अमित सिंहलगायत भारतीय सीमावर्ती प्रहरी प्रमुखहरु सहभागी थिए।
यस्तो रणनीति
दुर्गा बिसर्जन हुँदा अधिकांश मान्छेहरुले सीमा क्षेत्रमा मदिरा सेवन गर्ने, गाडीमा, ट्याक्टरमा लोड गरिएका ठूल्ठूला डिजे म्युजिक मुटु हल्लिनेगरी चर्को आवाजमा बजाउने र त्यसकै तालमा मदिरा सेवन गरेका युवाहरु उफ्रिने, जसको कारणले ठाउँ ठाउँमा फरक धर्म संस्कृतिका मान्छेका अगाडि उफ्रेर यो समस्या हुँदो रहेछ ।

त्यसकारण हामीले मुख्य कारको रुपमा रहेको डिजे म्युजिकको तालमा, नशाको सुरमा मान्छेहरु बुरुक बरुक उफ्रेर सज्जनहरु र धार्मिक अनुष्ठानको बीचमा पनि केही बदमास र उट्पट्याङ मान्छेहरु छिरेर बदमासी गर्ने हुँदा डिजे म्युजिक मुख्य कारक देखिएकाले यसलाई रोकेका छौं । स-सानो म्युजिक, भजन कीर्तन गर्न पाइन्छ । तर डिजे नै लगाएर हिन्दी गीत लाउने, कुनै जातजाति, भाषाभाषीलाई जिस्काउने खालको बजाउन नपाइने गरेका छौं । अर्को त्यो अवधिमा मदिरा सेवन गरेका मान्छेहरु नआउन भनेर २४ घण्टालाई रक्सी पसलहरु पनि बन्द गरिएको छ । दुर्गा मूर्ति बिसर्जन रातको समयमा हुँदो रहेछ ।
दिउँसै सम्पन्न गर्ने मिल्ने रहेछ । अपराध गर्ने, बदमासी गर्ने मान्छेहरु रातिको समयमा उच्छृंखल गतिविधि गर्ने हुँदा त्यो कार्यक्रमलाई दिउँसो उज्यालोमै सम्पन्न गर्नेगरी मिलाएका छौं । रुट पनि फिक्स गरेका छौं । एकअर्काबीचमा कन्सन्ट्रेसन नहुने हिसाबले मिलाएका छौं । कृष्णनगरमा मात्रै रेगुगर ड्युटी बाहेकको बाहिरबाट डेढ दुई सय जना जनशक्ति स्थानीय गणहरुबाट मगाएर परिचालित गर्छौं । स-साना गल्लीहरु छन् । धेरै ठाउँमा आवतजावत हुने भएकाले जनशक्ति बढाइएको छ ।
हामीले घटस्थापनादेखि नै सार्वजनिक सवारी, बदमासी गर्ने मान्छेहरु, पहिला बदमासी गरेका मान्छेहरुको अभिलेख, चोरीचकारी गर्ने मान्छेहरुको अभिलेख राखेर त्यस्ता मान्छेहरुमाथि निगरानी राख्ने, गतिविधि हेर्ने, अपराध गरेर भागेकाहरुलाई पक्रिने र सवारी साधनमा छद्म भेषमा सादा पोशाकमा प्रहरी परिचालन गर्ने गरेका छौं । बदमासहरु जम्मा हुने ठाउँमा हेल्प डेस्क राखेर लोकल मान्छे परिचालन गरेका छौं ।
सादा पोशाकमा हाइवेमा क्रस पट्रोलिङ पनि गरिरहेको छ । लोकल ठाउँमा हरेक डिजे पसले, हरेक रक्सी पसलेको पूर्ण अभिलेख छ । बदमासी गरेका/गर्ने सम्भावना भएका मान्छेहरु, दर्ता नभएका डिजेहरु, रक्सी पसलेहरुलाई कारवाही गरिएको छ । टोल टोलका शंकास्पद मान्छेहरु सबैको अभिलेख राखेर सादा पोशाकमा निगरानी गरिरहेका छौं ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…