धनुषाको नौसयविघामा वृहत टिका कार्यक्रम
टीका लगाउँदै मेयर मण्डलले आफ्ना नगरका नागरिकलाई टीका लगाउन पाउँदा कृतज्ञता प्रकट गरेका थिए ।

२०७८ असोज २९ शुक्रबार, बेलुकी ५:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसविघास्थित वृहत टीका कार्यक्रम गरिएको छ ।
पहाडी समुदायमा मात्र मनाइदै आएको टीका कार्यक्रम तराई मधेशको समुदायमा पनि वृहत रुपले मनाउन सुरु गरिएसँगै स्थानीय युवाहरुको अगुवाईमा वृहत टीका कार्यक्रम गरिएको हो ।
आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गा सप्तशती चण्डी पाठ गरी नवदुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ।
विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि विजय हासिल गरेको खुशियालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन अनुरुप नौसयविघास्थित वृहत टीका कार्यक्रम गरिएको हो ।
स्थानीय युवा प्रेमी शंकर प्रसाद यादवको अध्यक्षता एवम् धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलको प्रमुख आतिथ्यमा टीका समारोह आयोजना गरी दर्जनौ व्यक्तिलाई टीका लगाइएको हो ।
टीका कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले सम्पूर्ण नेपालीहरुलाई एक सुत्राधार गर्नको लागि वृहत टीका कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले पहाडी समुदायमा मात्र मनाइने टीका कार्यक्रम तराई मधेशको विभिन्न गाउँमा समेत मनाउन थाल्नु आपसी सम्बन्ध र सँस्कृतिलाई विस्तार गर्नु रहेको बताए ।
टीका लगाउँदै मेयर मण्डलले आफ्ना नगरका नागरिकलाई टीका लगाउन पाउँदा कृतज्ञता प्रकट गरेका थिए । उनले आगामी दिनमा यसलाई निरन्तरता दिन नौयसविघाका युवाहरुलाई आग्रह गरेका थिए ।
शुक्रबार दिउँसो स्थानीय बजरँग आधारभूत प्राथमिक विद्यालयको प्राँगनमा आयोजना गरिएको वृहत टीका कार्यक्रममा स्थानीय युवा, युवति, किशोर, किशोरी सहित भद्र भलादमीहरुलाई समेत टीका थापिएको हो ।
वृहत टीका कार्यक्रममा पत्रकार एवम् बजरँग आधारभूत प्राथमिक विद्यालयका अध्यक्ष बिनय कुमार यादव, सँचारकर्मी गुलाब बाबु मण्डल, मोख्तार हुसैन, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतका व्यक्तिहरुले समेत टीका लगाएका थिए ।
वृहत टीका ग्रहण कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा वडा अध्यक्ष इन्द्रकुमार महतो , समाजसेवी जोगकुमार महतो, रामसुन्दर यादव, जैसी यादव, इसाख राईन सहित नगरपालिका स्वास्थ्य सह–संयोजक रामकृष्ण यादव, उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुण मण्डल लगायत स्थानीय युवा बुद्धिजीवीहरुको मोटो सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…