प्रदेश २ः नेपाल-भारत बोर्डरमा यी वडाध्यक्षले लगाइदिए तारबार
‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको

२०७८ भदौ २३ बुधबार, दिउँसो ४:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ का एक वडाध्यक्षले नेपाल भारत सीमामा तारबार लगाइदिएका छन् । प्रदेश नम्बर २ को पर्सा जिल्लास्थित ठोरी गाउँपालिकाका एक वडाध्यक्षले तारबार लगाएका छन् ।
लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्य बहादुर लामाले भारतसँग जोडिएको सीमा क्षेत्रमा तारबार नै लगाइदिएका छन् ।
भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिलर नम्बर ४३५–१ देखि ४३१–४ सम्मको करिब ५ किलोमिटरको दूरीमा तारबार लगाएका हुन् ।
वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।
कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।
यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अवरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ ।
सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् । ‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो ।
त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’ वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिए ।
२०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…