तीज पर्वमा मितव्ययिता आवश्यक : मेयर साह
कार्यक्रममा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता सँजय कुमार साहले तीज पर्व महिलाहरुको लागि मात्र नभएर समाजिक विविधताको लागि महत्वपूर्ण रहेको बताएका छन् ।

२०७८ भदौ २२ मंगलबार, राति ८:०७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले तीज पर्वमा मितव्ययिता अपनाउनु आवश्यक रहेको बताएका छन् ।
हरितालिका तीजका अवसरमा नेपाल वैश्य युवा संघले जनकपुरमा आयोजना गरेको शुभकामना आदनप्रदान तथा महिला सम्मान कार्यक्रममा बोल्दै मेयर साहले तीज पर्वमा मितव्ययिता अति आवश्यक रहेको औल्याए ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर साहले आस्था र निष्ठाको पर्व तीजलाई विधिवत रुपमा मान्नुपर्ने धारणा आँकलनकोअ आवश्कयता रहेको बताए । तीजको नाममा हुने गरेको अतिरिक्त क्रियाकलापलाई न्यूनिकरणप्रति उनले जोड दिए ।
“बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने बिभिन्न चाडपर्वहरुले आफ्नै मौलिक मूल्य र मान्यताहरु सहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई संरक्षण तथा सम्बर्द्धन गरिरहेका हुन्छन् । देशको द्रुततर आर्थिक विकास एवम् सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयंगम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक छ ।”– उनले भने ।
कार्यक्रममा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेता सँजय कुमार साहले तीज पर्व महिलाहरुको लागि मात्र नभएर समाजिक विविधताको लागि महत्वपूर्ण रहेको बताएका छन् ।
नेता साहले श्रीमानको दीर्घायूको लागि बस्ने व्रत निष्ठाको भएपनि यसलाई आधुनिकीकरण गर्न थालिएपछि चिन्ता व्यक्त गरे । उनले तीज पर्वको नाममा हुने फजुल खर्चलाई समेत ध्यान दिनु आवश्यक रहेको बताए ।
नेता साहले भने, “तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ । तर, यसमा निष्ठा हुनुपर्छ, आधुनिकताको नाममा निष्ठा कुचल्ने गतिविधिलाई परास्तको आवश्यकता रहेको छ ।”
सो कार्यक्रममा मेयर साहले सहभागी महिलाहरुलाई गम्छा ओढाएर सम्मान गरेका थिए । तीजको अवसरमा उपस्थित सहभागीहरुले केही बेर नाचगान समेत गरेको थियो ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा पूर्व केन्द्रीय राज्य मन्त्री अरबिन्द साह, केन्द्रीय सदस्य मनोज कुमार चौधरी, धनुषा जिल्ला सचिव मनोज कुमार साह, डा. पुनम साह, रन्जित चौधरी सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…