मधेशमा आज 'राखी पर्व' मनाइदै
सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मधेश र मिथिला क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको छ ।

२०७८ भदौ ६ आइतबार, बिहान ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशमा आज भाई–बहिनीको प्रेम प्रतीकको पर्व राखी (रक्षा–बन्धन) पर्व विधिवत रुपमा मनाइदै छ ।
साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मधेशमा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मधेशमा नै आज राखीमय देखिँदो छ ।
आज एकाबिहानैदेखि यस क्षेत्रका बजार खुलेका छन् । रङ्गीचङ्गी ‘राखी’ जताततै बेच्न राखिएका छन् । पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङका रक्षासूत्र किन्न बस्तीका चोकचोकमा मधेशकी नारी, युवति, किशोरी बालिकाहरुको भीड नै देखिएको छ । राखीसँगै मिथिलानी दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारका जोहोमा लागेकाले मिठाइ पसल पनि भरिभराउ छन् ।
पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्ता मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन् । मधेशमा यस पर्व विवाह भएका दिदीबहिनीले आफ्नै घर वा माइतमा सुविधाअनुसार मनाउँछन् ।
अविवाहित चेलीको त दाजुभाइकै घर आफ्नो भएकाले घरमै पर्वका तयारीमा किशोरी र मधेशको नवयौवना व्यस्त देखिएका छन् । स–साना नानीहरुका घरका अभिभावकले सहयोग गर्दछन् ।
मधेशको सबै क्षेत्रमा आज दाजुभाइ÷दिदीबहिनीबीच प्रेम, सद्भाव र एकअर्काप्रतिको समर्पण भाव झल्कने गीत गुञ्जिरहेका छन् । मिथिलामा यो पर्व लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेकाले विगतमा हिन्दू, मैथिल परम्पराको यो पर्व अब सबै भाषाभाषी र धर्म समुदायमा पनि उत्तिकै लोकप्रिय बनेको देखिएको छ ।
सबैतिर राखी पर्वको रमझम र तयारीले सम्पूर्ण मधेश र मिथिला क्षेत्रमा आज बजारु चहलपहल ह्वात्तै बढेको छ । मधेशमा साउन शुक्लपक्ष सुरु भएसँगै यस पर्वको तयारी सुरु हुने गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…