सिडिओ अफिसबाट तीन दलाल पक्राउ, सेवाग्राहीलाई यसरी पार्थे प्रभावमा
प्रहरी टोलीलाई एक्काशी गाली गलौज हातपात गरी डिउटीमा बाधा अवरोध समेत सृजना गरेपछि पक्राउ

२०७८ भदौ १ मंगलबार, बेलुकी ५:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) धनुषाबाट प्रहरीले तीन जना दलाललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको जिल्ला प्रशासन कार्यालय धनुषाको गेट अगाडीबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उप महानगरपालिका वडा नं.४ मा बस्ने बृजु पुर्वेको छोरा वर्ष ३६ को गुड्डु पुर्वे, वडा नं. १० मा बस्ने झगरु साहको छोरा वर्ष ५० को बिजय कुमार साह र वडा नम्बर १ बस्ने राम जिवन मण्डलको छोरा वर्ष ३५ को बिजय मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार सिडिओ कार्यालयको अगाडी केही व्यक्तिहरुले सो कार्यालयमा आउने सेवाग्राहीहरुबाट छिटो छरितो काम गराइदिने भनी रकम मागेको खवर प्राप्त भएको प्रहरी सक्रिय भएको थियो ।
दलालहरुले सेवाग्राहीहरुलाई प्रभावमा पारी छिटो काम गराइदिने वापत रकम मागेको सूचना प्राप्त भएपछि केही बेरमै पुगेको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले तीन जना दलाललाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जीतेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
ती दलालहरुलाई प्रहरीले सिभिल पोशाकमा गएर तपाईहरुले के–कसरी छिटो छरितो कार्य गराई दिनु हुन्छ भनि सोधपुछ गर्दा उनीहरुले वास्तविक नबताई डिउटीमा रहेको प्रहरी टोलीलाई एक्काशी गाली गलौज हातपात गरी डिउटीमा बाधा अवरोध समेत सृजना गरेपछि पक्राउ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाबाटै उनीहरुलाई तत्कालै जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी बस्नेतले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…