अन्तिम अवस्थामा कक्षा १२ को परीक्षा स्थगित
बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो ।

२०७८ साउन २३ शनिबार, दिउँसो ३:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्ड (NEB) ले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
कोरोना महामारी र सँक्रमणको तत्कालको अवस्थालाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित गरिएको बुझिएको छ । यसअघि तोकिएको साउन ३१ गतेदेखिको परीक्षा रुटिनमा चौतर्फी दबाब दिइएको थियो ।
समाजिक सँजाल सहित नेपाल सरकारका मन्त्रीदेखि लिएर साँसदहरु सहित बुद्धिजीवी, नागरिक समाज, पत्रकारहरुले समेत अहिलेको अवस्थामा परीक्षा नगराउन सुझाव दिएको थियो ।
सोही सुझाव उपर शनिबार छलफल हुँदा ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा तत्कालको लागि स्थगित गरिएको बुझिएको छ । अहिले दैनिक रुपमा पुनः कोरोनाको सँक्रमण अधिक रुपमा बढदै गएको छ ।
यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।
विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।
केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताएका थिए । तर राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी अन्तिम चरणमा पुगेको र परीक्षा हुने बताउँदै आएको थियो ।
परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।
कस्तो थियो परीक्षाको तयारी ?
बोर्डले भौतिक दुरी कायम गरी एउटा कक्षामा २५ जना मात्रै विद्यार्थी राख्नेगरी तयारी थालेको थियो । साथै परीक्षा केन्द्रमा स्वाथ्य परीक्षण गर्ने, परीक्षा अगावै अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने, केन्द्रमा हेल्थडेक्स राख्ने लगायत तयारी गर्न सबै केन्द्रलाई निर्देशन दिएको थियो ।
परीक्षा बोर्डले यो पटक १०० पूर्णांककै परीक्षा गराउने तयारी गरेको थियो । बोर्डले गतवर्ष परीक्षा समय र अंक भार घटाएर परीक्षा लिएको थियो । बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि मात्रै परीक्षा लिएको थियो ।
बाँकी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो । कक्षा १२ मा तीन लाख ७२ हजार तीन सय ४८ परीक्षार्थीका लागि बोर्डले चार हजार तीन सय १० परीक्षा केन्द्र तोकिसकेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…