एमालेको बैठक स्थलमा तोडफोड
तोडफोडको आरोप पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि लागेको छ ।

२०७८ साउन ७ बिहीबार, दिउँसो ४:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ७ साउन । मोरङको उर्लाबारी नगरपालिका–८ एभरेष्ट फनपार्कमा आयोजना हुने भनिएको नेकपा (एमाले) उर्लाबारी नगर कमिटीको विस्तारित बैठकस्थलमा बिहीबार तोडफोड भएको छ ।
कुर्सी र टेवलको व्यवस्थापन गर्दै बैठकस्थल ठिक्क पारेर दिउँसो १ बजे बैठक बोलाइएको थियो । तर त्यसअघि नै बिहान ११ः३० बजेतिर बैठकस्थलमा तोडफोड भएको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली ९संस्थापन० पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आयोजना गरेको बताइएको छ । एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले घटनाको पुष्टि गरे ।
उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्याइएको छ । बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ ।
उनले तोडफोडमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । तोडफोडको आरोप पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमाथि लागेको छ ।
तर नेपाल समूहले यसलाई अस्वीकार गरिरहेको छ । ‘हामीसँग रहेका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकिएको थियो,’ नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले भने, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन आरोप लगाउने काम भएको छ ।’
तोडफोडमा एमाले भातृ संगठन युवा संघ उर्लाबारीमा आवद्ध कुमार लिम्बू, एलिन लिम्बूसमेतको संलग्नता देखिएको प्रहरीले जनाएको छ । नेपाल समूहमा आवद्ध रहेका दुवै जना घटनापछि फरार बनेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । बैठकस्थलको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एमाले मोरङ अध्यक्ष ऋषिकेश पोख्रेलले बैठकस्थलमा तोडफोड भए पनि आन्तरिक व्यवस्थापन मिलाएर बैठक सञ्चालन गरिएको बताए । पार्टीको बैठकस्थलमा तोडफोड हुनु अत्यन्तै दुःखद् र खेदजनक रहेको उनको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…