रेलको ट्रयाक टेष्ट सफल रहयो, फाराम भरेकाहरुको रकम फिर्ता हुन्छ : महाप्रबन्धक भट्टराई
महाप्रबन्धक भट्टराईले आफूहरुले यही ३/४ दिनपछि नै रेल हस्तान्तरण गर्ने अपेक्षा राखेको

२०७८ साउन ३ आइतबार, दिउँसो १:३० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले आईतबार गरिएको रेलको ट्रयाक परीक्षण पूर्ण सफल भएको बताएका छन् ।
ट्रयाक परीक्षण अन्तिम प्रयास र परीक्षण रहेको बताउँदै उनले आज गरिएको परीक्षण सफल भएको बताएका छन् । न्यूज ब्यूरोसँगको कुराकानीमा महाप्रबन्धक भट्टराईले रेलको लीक (पटरी) मा कहि कतै समस्या नदेखिएको बताए ।
आईतबार (आज) विहान ११ बजेर १५ मिनेटमा घुम्टो हटाइएको रेलको ईन्जिन लिएर जनकपुरधाम हुँदै कुर्थासम्मको रेलको ट्रयाक टेष्ट गरिएको हो । यसअघि महाप्रबन्धक भट्टराईले सूचना पनि जारी गरेका थिए ।
इनर्बादेखि ११ः१५ बजे खुलेको ट्रेन ११ः४८ बजे जनकपुर हुँदै कुर्था स्टेशन पुगेको थियो । सो अवधीमा कहिँकतै पनि रेल्वे लिकमा समस्या नदेखिएको प्राविधिकलाई उदृत गर्दै महाप्रबन्धक भट्टराईले न्यूज ब्यूरोसँग भने ।
रेल्वे लिक टेष्टको क्रममा कहि कतै क्षति भएको सन्दर्भमा उनले कहि पनि कुनै क्षति नभएको दाबी गरे । धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ महुवा भएर गएको रेल्वे ट्रयाकमा एक खँसी र एक बाख्रा कटेको सन्दर्भमा उनले आफूलाई त्यसको जानकारी नभएपनि ट्रयाकमा खँसी बाख्रा छाडनेलाई उल्टै कारवाही हुने बताए ।
उनले भने,–“रेल्वेको नियम अनुसार, रेल्वे ट्रयाकमा गाईभैँसी, बाख्रा, लिकमा ढुँगा राखेमा, पशुचौपाया छाडेमा कारवाही हुनेछ । सो क्रममा कुनै दुर्घटना भए सम्बन्धित व्यक्तिलाई कानुनी कारवाही हुनेछ ।”
रेल्वे नियमित भएको क्रममा कुनै दुर्घटना हुँदा क्षतिपूर्ति पाउने कुनै तुक नरहेको बताउँदै उनले उल्टै जरिवाना र कानुनी सजायको व्यवस्था गरिएको बताए । उनले रेल नियमित चल्न थालेपछि नागरिकहरु आफैँ सचेत हुने पनि बताए ।
रेलको ट्रयाक परीक्षण हुने भनेर ४ दिनअघिदेखि नै प्रचार प्रसार, सूचना, माईकिँग गरिएको भएपनि रेलवे लिकमा पशु चौपाया छाडनु नै कानुनी अपराध रहेको बताए ।
आईतबारको रेलवे ट्रयाकको परीक्षण सफल भएको बताउँदै महाप्रबन्धक भट्टराईले आफूहरुले यही ३/४ दिनपछि नै रेल हस्तान्तरण गर्ने अपेक्षा राखेको बताए । उनले रेलवे सँचालनको लागि मन्त्रालय नै खाली खाली भएको तथा कर्मचारी समेत नभएको कारण अहिले नै चल्ने अवस्था नरहेको भएपनि यही महिनाभित्र नियमित हुनेमा विश्वास जनाए ।
महाप्रबन्धक भट्टराईले कर्मचारी नियुक्तीको लागि निकालिएको विज्ञापनमा लोक सेवा आयोगले अँकुश लगाएपछि कर्मचारी भर्ना हुन नपाएको तथा अहिले विभिन्न प्राविधिक धारबाट कर्मचारीहरु छनौट गर्न थालिएको बताए ।
उनले भने,–“हामीले कर्मचारी एउटा पनि नियुक्ती गरेका छैनौ, तर विभिन्न ठाउँबाट प्राविधिक ज्ञान भएका व्यक्तिहरुलाई कर्मचारीको रुपमा राख्न थालेका छौं तर नियुक्ती भने गरिरहेका छैनौ, अब कर्मचारी पनि लोकसेवा आयोगले नै छानेर दिनेछ । हामीले करारमा कर्मचारी भर्ना खोलेपछि आयोगले अँशुक लगाएर रोक्यो । नभए अहिलेसम्म रेल नियमित सँचालनमा हुने थियो ।”
करार कर्मचारीको लागि परेको आवेदनलाई के गर्ने ?
करार कर्मचारीको लागि ३६ हजार जनाबढीले दिएको आवेदनको सन्दर्भमा उनले सबै जनाको रकम फिर्ता गरिने बताए । उनले कर्मचारी भर्नाको लागि दक्ष कर्मचारी खोजेपनि नेपालमा रेल सम्बन्धी पाठ्यक्रम नै नभए कर्मचारी भर्ना गर्न पनि समस्या भएको बताए ।
उनले आवेदन दिएका उम्मेदवारहरुको रकम उनकै बैँक खातामा फिर्ता गर्ने गरी गृहकार्य भइरहेको बताए । “अब ३६ हजार जनाको लागि चेक काटन त सम्भव हुँदैन, तर बैँक मार्फत नै फिर्ता गरिने गरी गृहकार्य थालेका छौं । उहाँहरुलाई बायपास गरी कुनै पनि कर्मचारी अहिलेसम्म भर्ना नगरिएको र नियुक्ती नगरिएको विश्वास दिलाउन चाहन्छु ।”– उनले भने ।
उनले सरकार परिवर्तनसँगै मन्त्रालय समेत खाली भएको कारणले तत्कालै रेल सँचालन सहित रकम फिर्ताको लागि कठिनाई भएको पनि बताए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…