जसपाले अझै पठाएनन मन्त्री बन्नेहरुको नाम, माओवादी र काँग्रेसबाट तीन जनाको नाम
तर मन्त्रीका लागि शर्मा र भुसालको नाम दिंदा आफूहरुसँग कुरा परामर्श नभएको नेताहरुको गुनासो छ ।

२०७८ असार २९ मंगलबार, बेलुकी ६:०८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ ।
जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।
बैठकले अदालतको फैसलाले लोकतन्त्रलाई पुनश्चः ट्र्याकमा फिर्ता गरेको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।
जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले जानकारी दिए ।
बैठकले पाँच दलीय गठबन्धनलाई संसदको पूर्ण कालसम्म टिकाउन अधिकमतम् भूमिका खेल्ने निर्णय गरेको छ । यता, नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।
माओवादी केन्द्रका अध्यक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई नेताको नाम दिएको स्रोत बताएको छ । स्रोतका अनुसार शर्मालाई अर्थ र भुसाललाई ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले सरकारलाई कसलाई पठाउने भन्ने टुंगो लगाएको थिएन । एक नेताका अनुसार अध्यक्ष प्रचण्डले नाम सिफारिस नगर्न आग्रह गरेका थिए र नेताहरुले समावेशी र सक्षम टिम सरकारमा पठाउनुपर्ने जोड दिएका थिए ।
बैठकको अन्त्य गर्ने क्रममा प्रचण्डले पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्र पार्टीबाट क–कसलाई सरकारमा पठाउने बताएका थिए ।
देउवालाई भेटेपछि सम्भव भए स्थायी कमिटी बैठक बस्ने, नभए नेताहरुसँग परामर्श गरेर नाम पठाउने उनको आश्वासन थियो ।
तर मन्त्रीका लागि शर्मा र भुसालको नाम दिंदा आफूहरुसँग कुरा परामर्श नभएको नेताहरुको गुनासो छ ।
सोही क्रममा सरकारमा कांग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँड मन्त्री बन्ने भएका छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रहेका खाँड मन्त्री बन्न लागेका हुन् ।
मंगलबार देउवा नेतृत्वमा सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको छ । नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ ६ बजे सपथ लिँदैछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…