भत्ताको लोभ दिँदै वृद्धवृद्धाहरुलाई ठगेर घाममा सुकाए जुक्ति रान, मुद्दाभन्दा चुनावी प्रचार
थप निकासाको लागि पठाएको पत्र अनुसार २ करोड ४९ लाख ७६ हजार रुपैयाँ निकासा भएको उल्लेख छ ।

२०७८ असार १४ सोमबार, बिहान ८:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकास्थित आईतबार नगरपालिकाको विभिन्न स्थानबाट वृद्धवृद्धाहरुलाई वृद्धाभत्ताको लोभ दिँदै ठगेर ल्याइएको देखियो ।
समयमा समाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको भन्दै पाँचदिन अघिदेखि नै नगरपालिकाभरि लाउडस्पीकर लगाएर वृद्धभत्ता, विधवा भत्ताको लागि आन्दोलन गर्न जान प्रचारवाजी गरेका स्थानीय नेता जुक्तीलाल रानले उनीहरुलाई दिनभरि टन्टालपुर घाममा सुकाएको देखिए ।
समयमा समाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको भन्दै जुक्ती रानले गाउँ गाउँमा प्रचार गरी वृद्धवृद्धाहरुलाई उठाएर नगरपालिका कार्यालय घेराउ गर्न ल्याएका थिए । आईतबार कमला नगरपालिकाको ९ वडा वडामा भएको करिब ४० हजार बढी जनसँख्यामध्ये करिब डेढ सय बृद्धवृद्धाहरुलाई लोभलालच दिँदै उठाएर ल्याएका थिए ।
वृद्धभत्ताको लोभ दिँदै उनले कमला नगरापलिकाको बाहिर लाउडस्पीकर लगाएर चुनावी प्रचारमा व्यस्त देखिए । सो क्रममा बोलेका वक्ताहरुले समाजिक सुरक्षा भत्ता उपलब्धको मुद्दा भन्दा चुनावी प्रचारमै केन्द्रीत भएका थिए । उनीहरुले अब कसलाई जिताउने, कसलाई हराउने, कसलाई भोँट दिने जस्ता कुरामा मात्र सिमित देखिएका थिए ।

कमला नगरपालिकाका मेयर राम उदगार गोईत र निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध केहीबेर नारावाजी गरेका जुक्ती रानका कार्यकर्ताहरुले ट्रयाक्टर, मोटरसाईकलमा बोकेर ल्याएका जेष्ठ नागरिकहरुलाई चर्को घाममा बसाएर आफ्नो भाषण सुनाए ।
नगरपालिका कार्यालयको बाहिर रहेको चौतारामा बनाइएको मँचमा आसिन विभिन्न पार्टीका प्रतिनीधिहरुले आ–आफ्नो पार्टीका प्रचार सहित चुनावी माहौल सुरु भएको भनेर सँकेत गरेका थिए । तर, वृद्धवृद्धाहरु पानी समेत खान पाएका थिएनन् ।
उनीहरुले समाजिक सुरक्षा भत्ता उपलब्ध नगराएको भन्दै नगर प्रमुख गोईत र निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानमाथि खनिएका थिए । उनीहरुले मेयर हाकिम मिलेर समाजिक सुरक्षा भत्ता खाइदिएको आरोप पनि लगाएका थिए ।
को हुन जुक्ती रान ?
जुक्ती रान कमला नगरपालिका वडा नं. ८ का गाउँघरका भनाउँदा नेता हुन् । यसअघि चुनाव लडेका जुक्तीले थोरै भोँट पाएर पराजित भएका थिए । कहिले माओवादी, कहिले जसपा त कहिले काँग्रेसतिर हुन्छन् । उनको कुनै एउटा ठोस पार्टी नभएको स्थानीयहरु बताउँछन् ।
कमला नगरपालिकामा उनले गरेको एउटा योजनाको कामको भुक्तानी नभएकोले उनले वृद्धवृद्धाहरुलाई मोहरा बनाएर नगरपालिका कार्यालय घेराउ गर्न ल्याएको बताईन्छ । उनको चेक निकासा नभएपछि उनले वृद्धवृद्धाहरु घर घरबाट बोकेर समाजिक सुरक्षा भत्ताको मुद्दा बनाए ।
ÖÒÔ
यता, नगर प्रमुख गोईतले भने समाजिक सुरक्षा भत्ताको थप निकासाको लागि सम्बन्धित निकायमा गत असार ९ गते नै परिपत्र भईसकेको र निकासा को.ल.नि.का मा आईसकेको भन्दै यस साताभित्रै सबैको खातामा रकम जाने बताए ।
राष्ट्रिय परिचयपत्र तथा पँजीकरण विभागको चलानी नम्बर ३२०० को पत्रानुसार कमला नगरपालिकाले थप निकासाको लागि पठाएको पत्र अनुसार २ करोड ४९ लाख ७६ हजार रुपैयाँ निकासा भएको उल्लेख छ । निकासाको लागि सो रकम कोलनिकामा आईसकेको तर, नगरपालिकाको खातामा अझै नआएकोले ढिलाई भएको बताए । उनले यस साताभित्रै सबैको खातामा रकमान्तर हुने दाबी गरे ।
आईतबार भएको विरोध कार्यक्रमको मँचमा माओवादीका नेता रामचन्द्र झा सहित अन्य नेताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…