प्रदेश २ः प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक सोमबार
सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ ।

२०७८ जेठ २३ आइतबार, राति ९:१५ बजे१ मिनेट पढाइ
न्युज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको छैटौँ अधिवेशनको पहिलो बैठक सोमबार बस्ने भएको छ । प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गरेपछि सोमबार बजेट अधिवेशन आह्वान गरिएको छ ।
मन्त्रिपरिषद्का सिफारिसमा प्रदेश प्रमुख डा राजेश अहिराजले सोमबारका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नुभएको छ ।
प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार बैठकमा दलका नेताहरूले शुभकामना दिने र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आव २०७८÷०७९ का लागि तयार गरिएको पूर्वबजेटको दस्तावेज टेबल गर्ने कार्यसूची छ ।
प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसैगरी सरकारको आव २०७८/०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्वबजेट छलफलपछि मात्र संसद्मा प्रस्तुत हुने भएको छ ।
सोअनुसार प्रदेश सरकारले यही जेठ २७ गते नीति तथा कार्यक्रम ल्याइने जनाएको छ ।
प्रदेशसभामा प्रदेश प्रमुख डा अहिराजले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ ।
नीति तथा कार्यक्रमपछि प्रि–बजेट छलफल गर्ने परम्परा भए पनि कोरोना महामारीका कारण संसद् अधिवेशन ढिलो आह्वान भएकाले नीति तथा कार्यक्रम पछाडि धकेलिएको संसद् सचिवालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…