सपथ खाएका मन्त्रीहरु र महन्थ ठाकुरलाई ओलीले दुई महिनामै लात हानेर भगाउँछः मन्त्री यादव
महन्थ ठाकुरले खेलेको भूमिकालाई मधेशी जनताले कहिल्यै माफ नगर्ने चेतावनी पनि दिए ।

२०७८ जेठ २१ शुक्रबार, राति ९:०७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले केन्द्र सरकारमा मन्त्रीको सपथ खाएका नव मन्त्रीहरु सहित महन्थ ठाकुरलाई एमालेका केपी ओली एवम् वर्तमान काम चलाउ प्रधानमन्त्रीले दुई महिनामै किक हानेर भगाउने ठोकुवा गरेका छन् ।
जनता समाजवादी पार्टीबाट मन्त्री पदको सपथ खाएका नव नियुक्त मन्त्रीहरुसहित विशेष गरी महन्थ ठाकुरउपर तन्ज कस्दै मन्त्री यादवले दुई अध्यक्षबीच भएको सम्झौतालाई लात हानेर ओलीसँग पोइल गएपनि ओलीले केही दिन प्रयोग गरी फाल्ने ठोकुवा गरे ।
उनले भने, –“लेखेर राख्नुस्, यीनीहरुलाई केटाकेटी जस्तै ललिपप देखाएको छ । ललिपप दिएर प्रयोग गर्नेछ । चुनावको बेलासम्म प्रयोग गर्ने र त्यसपछि ओलीले आफ्नैलाई पुनः मन्त्री बनाउन यीनीहरुलाई लात हान्नेछ ।”
जनता समाजवादी पार्टी नेपालका प्रदेश २ अध्यक्ष समेत रहेका मन्त्री यादवले मधेशको मुद्दा सम्बोधन नभएसम्म सरकारमा नजाने प्रतिवद्धता गरेका महन्थ ठाकुरले मधेशी जनतासँग पुनः गद्दारी गरेको आरोप पनि लगाए ।
उनले ओलीले देखाएको मधेशप्रतिको चरित्र विरुद्ध जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र उपेन्द्र यादव एक ढिक्का भएर विभेदको अन्त्यका लागि लडेको भएपनि अहिले क्षणिक मन्त्री बन्ने लोभमा मुद्दालाई लत्याएको आरोप लगाए ।
मधेशको मुद्दा बेचेर सधैं नगदीमा कारोबार गर्ने भन्दाभन्दै अहिले पनि उधारोमा काम गरी क्षणिक मन्त्री पद पाउन मधेशको मुद्दा र मधेशीको भावनासँग खेलवाड गरी विश्वास तोडेको आरोप पनि लगाए ।
दुई अध्यक्षबीच भएको सहमति विपरित पार्टीको विधिविधानलाई लत्याएर, आम मधेशी जनताको भावना, प्रतिष्ठानलाई लात हानेर लोभ लालचमा परेको औल्याउँदै उनले केपी ओली यीनीहरुलाई केही दिनमै लात हानेर भगाउने दाबी गरे ।
उनले भने,–“दुई राष्ट्रिय अध्यक्षबीच भएको सहमतिलाई तोडनको लागि केपी ओलीले बिछयाएको जालमा महन्थ ठाकुर माछाझैं फँस्नुभएको छ । केपी ओली हावी भएर पनि होला की आफ्नै पार्टीको विपरित मन्त्री पद पडकाउन हिडेको छ । मधेशको मुद्दा सम्बोधन नै नगरी सरकारमा जान लाज लाग्नुपर्ने होइन र ?”
पार्टीमा शुद्धिकरण गरी एकता कामय गर्नुको साटो पार्टीलाई फोडेर मन्त्री बन्न आफ्नो स्वार्थ मात्र पुरा गरेको भन्दै यादवले नाईकेको रुपमा महन्थ ठाकुरले खेलेको भूमिकालाई मधेशी जनताले कहिल्यै माफ नगर्ने चेतावनी पनि दिए ।
नव नियुक्त मन्त्रीहरुमा राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री, अनिल कुमार झा खानेपानी तथा सरसफाई, सहकारी तथा गरिबी निवारण मन्त्री, शरद सिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, विमल श्रीवास्तव श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री, उमाशंकर अरगरिया वन तथा वातावरण मन्त्री, चन्दा चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, एकवाल मिया युवा तथा खेलकूदमन्त्री र चन्द्रकान्त चौधरी उर्जाराज्यमन्त्रीमा सपथ लिएपछि जसपाका प्रदेश अध्यक्ष यादवले यीनीहरुलाई व्यक्तिगत स्वार्थ मात्र पुरा गरेको बताएका छन् ।
मधेशी जनता मात्र नभएर पार्टीले समेत महन्थ ठाकुरलाई एक अभिभावकको रुपमा मानेर नेतृत्व गर्न पठाएको बेला पार्टीमा फुट हालेर आफ्नो स्वार्थपूर्तिको लागि कदम चालेको भन्दै यसको परिणाम पनि भोग्नुपर्ने उनले बताएका छन् ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै मन्त्री यादवले यसअघि साबिकको सँघीय समाजवादी फोरमबाट टिकट लिएर समानुपातिक साँसद बनेका केही साँसदहरुले पनि पार्टी फुटाएर मन्त्री बन्न देखाएको लोभको पनि जनताले मूल्याँकन गरिरहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…