महन्थ ठाकुर र राजेन्द्र महतो सहित ४ नेतालाई जसपाबाट निकाल्ने अन्तिम चेतावनी
विगत केही दिनदेखि जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतो तथा उपेन्द्र गुटमा फुटझैं भएको छ ।

२०७८ जेठ १५ शनिबार, दिउँसो १:२३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका प्रथम अध्यक्ष भनिएको महन्थ ठाकुर सहित जसपाका नेता राजेन्द्र महतोलाई पार्टीबाट निष्कासनको चेतावनी दिएको छ ।
गत जेठ ११ गते सोधिएको स्पष्टिकरणको जवाफ अझै नपठाएको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतोसहित अन्य दुई नेतालाई पार्टीबाट निष्कासनको चेतावनी दिएको हो । नेताहरुलाई पार्टी विपरित कार्य गरेको भन्दै स्पष्टिकरणको समेत जवाफ नआएकोले निष्कासनको चेतावनी दिएको हो ।
पार्टीको केन्द्रीय कार्यकारिणी अध्यक्ष रहेका ठाकुरलाई गत जेठ ११ गते ९ बुँदे स्पष्टिकरण सोधिएको थियो । पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले ठाकुरलाई पार्टीको तर्फबाट पार्टीको हित विपरित कार्य गरेको भन्दै ९ बुँदे स्पष्टिकरण सोधेको थियो ।

ठाकुरलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएपनि अझसम्म स्पष्टिकरण पेश नगरेको भन्दै पुनः २४ घण्टे अल्मिेटम सहित कारवाहीको चेतावनी पनि दिएको हो । नेता राजेन्द्र महतोलाई पनि २४ घण्टे अल्टिमेटम सहित पार्टीबाट निष्कासनको चेतावनी दिएको हो ।
यसका साथै, नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई समेत स्पष्टिकरण सोधिएको हो । उनीहरुलाई सन्तोषजनक स्पष्टिकरण पेश नगरिएको पार्टीको विधान अनुरुप कारवाही गरी निष्कासन गर्ने चेतावनी पत्रमा उल्लेख गरिएको छ ।
पार्टी विधान तथा राजनीतिक दल सम्बान्ध ऐन, २०७३ को दफा १८ (३) २५ (१) (२) र पार्टी विधानको दफा ४९ को (१)(२)(३)(५) र ८, दफा ५० को (१) विपरीत काम गरेको भन्दै चलानी नम्बर ५६ को पत्रलाई उदृत गर्दै सो बमोजिम जवाफ अझै नआएको उल्लेख गरिएको छ ।
ठाकुरलाई “स्पष्टिकरण लिई सफाइको मौका दिन केन्द्रीय कार्यकारिणी समितिको मिति २०७८ जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ वमोजिम तपाईंलाई कार्वाही किन नगर्ने भनि स्पष्टिकरणको जवाफ प्राप्त हुन नआएकोले दोखरो पटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन हुन अनुरोध छ । यो पत्र प्राप्त गरेको म्याद भित्र चित्त बुझदो सन्तोष जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्ध ऐन, २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित घारा ६९ (५), (५० (१) र मिति २०७८ जेठ ८ मा भएको निर्णयको बुँदा नं ४ बमोजिम निष्काशन समेतको कार्वाही हुनेछ ।” भनेर उल्लेख गरिएको छ ।

यस्तै, नेता राजेन्द्र महतोलाई पनि सोही दफा लगाएर कारवाही स्वरुप स्पष्टिकरण सोधिएको हो । उनलाई पनि २४ घण्टे अल्टिमेटम दिँदै स्पष्टिकरण पेश गर्न पत्राचार गरेको हो । नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई समेत पत्राचार गरी स्पष्टिकरण माग गरिएको हो ।
विगत केही दिनदेखि जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महतो तथा उपेन्द्र गुटमा फुटझैं भएको छ । अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतो सहितका नेताहरुलाई स्पष्टिकरण सोधिरहेका छन् भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई स्पष्टिकरण सोधेपछि जसपाको विवाद छताछुल्ल भएको छ ।
समाजिक सँजालमा पनि महन्थ पक्ष र उपेन्द्रपक्षबीच कडा जुहारी देखिएको छ । समाजिक सँजालमा उनीहरु लोक दोहोरी खेलेझैं टिकाटिप्पणी गरिरहेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…