शिक्षक हत्या काण्डः झण्डै दुई वर्षपछि आरोपी पक्राउ, एकहप्ता नबित्दै धरौटीमा छुटे
गत चैत ३० गते सोही अदालतबाट भएको आदेशअनुसार मेहताले २ लाख रुपैयाँमा धरौटी तिरेर छुटेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।

२०७८ जेठ १० सोमबार, राति ९:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा भएको शिक्षक हत्या घटनाका अर्का आरोपी पनि पक्राउ परेको साता दिन नवित्दै धरौटीमा छुटेका छन् ।
सप्तरी जिल्ला अदालतबाट आज भएको थुनछेक आदेशले ३ लाख रुपैयाँ धरौटी तिरेर वडा नम्वर ७ कै ४० वर्षीय आरोपी टुनटुन भनिने सुभाष चन्द्र यादव छुटेका हुन् ।
न्यायाधिस प्रेमबहादुर न्यौपानेको आदेशले हत्याका आरोपी यादवले धरौटी तिरेर रिहा भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
२०७६ असार १० गते विहान २ बजे तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपािलका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गरिरहेका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या भएको थियो ।
छोरालाई आठ जनाको समूहले कुटपिट गरी हत्या गरेको भन्दै मृतक बिराजीका बुवा उपेन्द्रप्रसाद यादवले असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । असार १२ गते उजुरी दर्ता भएसँगै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेका थिए ।
अनुसन्धानकै यादवलाई यही जेठ ४ गते घरमै लुकिछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । ‘हामीले पक्राउ गरेपछि यादवलाई सम्मानित जिल्ला अदालतमा पेश गरेका छौं,’ उनले भने ।
यसअघि पनि गत चैत ५ गते प्रहरीले सोही घटनाका आरोपमध्ये राजविराज नगरपालिका–७ कै २४ वर्षीय श्रवण कुमार महेतालाई ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट पक्राउ गरेका थिए । मेहता पनि धरौटीमै छुटेका छन् ।
गत चैत ३० गते सोही अदालतबाट भएको आदेशअनुसार मेहताले २ लाख रुपैयाँमा धरौटी तिरेर छुटेको प्रहरी नायव उपरिक्षक काफ्लेले बताए ।
घटनाका अन्य पाँच जना आरोपी अझै फरार रहेकाले खोजी कार्य भइरहेको छ भने आरोपीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…