प्रादेशिक अस्पताल जनकपुरमा युवाहरुको छडके, कतै मृतकको लास त कतै विरामीको छटपटी
उनीहरुले प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएपनि अन्य ठाउँमा मोटो रकम लिएर अक्सिजन कालोबजारी गरेको आरोप पनि लगाए ।

२०७८ जेठ ७ शुक्रबार, बिहान १०:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर र आसपासका जिल्लाहरुको लागि आस्थाको रुपमा रहेको जनकपुरको प्रादेशिक अस्पतालमा विहिबार जनकपुरका युवाहरुले छडके गरेका छन् ।
जनता समाजवादी पार्टीका युवा नेता नविन यादवसहितको एक टिमले अकस्मात गरेको छडकेको क्रममा कोभिड अस्पतालमा अक्सिजनको कमी सहित चिकित्सक र नर्सहरुको गैर जिम्मेवारीपूर्णको भिडियो देखाइएको थियो ।
नेता यादवको नीजि फेसबुकबाट छडकेको सम्पूर्ण गतिविधिको लाईभ गरिरहँदा प्रादेशिक अस्पतालमा सँचालनमा रहेको कोभिड अस्पतालमा भर्नामा रहेका विरामीहरुले समयमा कुनै पनि काम नहुने गरेको गुनासो गरेका थिए ।
कोभिड अस्पतालमा चाहेको बमोजिम अक्सिजन पुरयाउन नसकेको बेडमा रहेका विरामीहरुले प्रतिक्रिया दिएका हुन् । नेता यादवले उनीहरुसँग केके समस्या भएको भनेर सोध्दा समयमा अक्सिजन नआएको र चेकजाँचको लागि पनि चिकित्कहरु आफ्नै मनमौजी भएर आउने गरेको प्रतिक्रिया दिएका हुन् ।
अस्पतालमा गरेको छडकेको भिडियो
छडकेको क्रममा कोभिड अस्पतालको एक बेडमा एक महिला मृत अवस्थामा भेटाइन् । उनको बिहानै मृत्यू भएर साँझसम्म लास नउठेको गुनासो उपचाररत विरामीहरुको थियो । उनको अक्सिजनको कमी भएरै मृत्यू भएको दाबी विरामीहरुले गरेको थियो ।
सोही क्रममा डायग्नोसिसको लागि बिहानैदेखि भौतारिरहेकी एक महिलाले उपचारको लागि विरामी छटपटाउँदै गर्दा पनि चिकित्सकले डायग्नोसिस नगरिदिएको गुनासो गरिन् । उनले विहानैदेखि लाईनमा पाँच पटक लागेपनि अझै विरामी छटपटाइरहँदा चिकित्सकले डायग्नोसिस नगरिदिएको आरोप लगाइन् ।
नेता यादवको टिम छडके गरिरहँदा महिला (कुरुवा) सँग समस्याको बारेमा सोधेपछि विहानैदेखि साँझसम्म डायग्नोसिस नगरिदिँदा विरामी मर्ने अवस्थामा पुगेको गुनासो गरिन् । त्यसपछि उनीहरुको टिमले विभिन्न शाखामा गएर छडके गरेको थियो ।
छडकेको क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले भिडियो खिचिरहेको मोबाईल बन्द गर्न जबरदस्ती गरेका थिए । उनले भिडियो नखिच्न जोर जबरदस्ती गरेपनि युवाहरुले भिडियोलाई निरन्तरता दिएको थियो । सो क्रममा युवाहरुले अक्सिजनको कमीले विरामीको मृत्यू भएको सोध्दा उनले अक्सिजनको कमीले मृत्यू नभएको प्रतिक्रिया दिए ।
यद्यपी, महिलाको मृत्यू कुन कारणले भएको नप्रष्टयाएपनि अक्सिजनको कमीले मृत्यू नभएको बताएका थिए । विहिबार नै प्रादेशिक अस्पतालमा २०० अक्सिजन सिलिण्डर आएको खवर पाएको भन्दै उनीहरुले सिलिण्डर कहाँ गएको भनेर प्रश्न तेर्साएपछि खर्च भएको सुनाए ।
अस्पतालमा गरेको छडकेको भिडियो
प्रादेशिक अस्पतालमा आउने अक्सिजन सिलिण्डर मेसु यादवले अन्य ठाउँमा पैठारी गर्ने गरेको आरोप युवाहरुको छ । उनीहरुले प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएपनि अन्य ठाउँमा मोटो रकम लिएर अक्सिजन कालोबजारी गरेको आरोप पनि लगाए ।
सोही क्रममा नर्सहरुको लापरवाही, चिकित्सकहरुको लापरवाहीको बारेमा एक विरामीले सुई देखि केनुलासम्म नराम्ररी लगाएको गुनासो पनि पोखे । उनीहरुले विरामीलाई छुनै नचाहेको आरोप पनि लगाएको छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…