काठमान्डौँबाट जनकपुरसम्म २ लाख २५ हजार रुपैयाँ भाडा असुल्ने सवारी कारवाहीमा !
प्रति यात्रु १५ हजार रुपैयाँ लिएपछि १५ जनाबाट सवारी चालकले २ लाख २५ हजार (सवा दुई लाख) रुपैयाँ असुलेका थिए ।

२०७८ बैशाख २४ शुक्रबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विदेशबाट कमाएर आफ्नो घर फर्किदाँ जनकपुरका १५ जना यात्रुबाट १५/१५ हजार रुपैयाँ लिने सवारीलाई कारवाही गरिएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाडौँ उपत्यकाबाट गृहजिल्ला जाने क्रममा बिहीबार काठमाडौँबाट धनुषाको जनकपुरसम्म आउँदा करिब ६ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारवाही गरेको छ ।
काठमाडौँबाट जनकपुर आईरहेको काठमाडौँ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको उक्त सवारीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारवाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतियात्रु रु १५ हजारको दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित उक्त यातायत साधनलाई यातायात व्यवस्था विभागमा कारवाहीको सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इन्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिए ।
उनले भनिन् “चालक र सवारी साधन होल्ड गरी कारवाही सिफारिश गरेका छौँ ।” कोरोना महामारीमा बिदेशबाट आउँदा आफ्नो गृह जिल्ला जाने क्रममा मौकाको फाईदा उठाउन खोजेपछि पक्राउ गरिएको हो ।
प्रति यात्रु १५ हजार रुपैयाँ लिएपछि १५ जनाबाट सवारी चालकले २ लाख २५ हजार (सवा दुई लाख) रुपैयाँ असुलेका थिए । साँगामै पक्राउ गरी उनलाई कारवाहीको लागि सिफारिस गरिएको जनाइएको छ
कोरोना महामारीसँगै सरकारले विभिन्न स्थानमा लगाएको लकडाउन र निषेधाज्ञाका कारण कालोबजारी समेत बढेको छ । केही व्यापारीहरु समेत जनकपुरमा फाईदा उठाउने गरेको बुझिएको छ । यस्तोमा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…