९ दिनपछि कमला नगरपालिकाको ताला तत्काल खुल्यो, पुनः तालाबन्दीको चेतावनी
आफूहरुले समेत तालाबन्दी गर्ने कुनै शौक नरहेको बताउँदै वडाध्यक्षहरुले मेयरको कार्यशैलीबाट बाध्य भएर तालाबन्दी गर्नुपरेको औल्याए ।

२०७८ बैशाख १४ मंगलबार, बेलुकी ७:५८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा लगाइएको ताला आज (मँगलबार) ९ दिनपछि खोलिएको छ ।
नगरपालिकाका नगर प्रमुख र केही वडाध्यक्षहरुबीचको किचलोका कारण गरिएको तालाबन्दी समस्या समाधान गर्ने तर्फ उन्मुख भएपछि ताला खोलिएको हो ।
मँगलबार बिहानैदेखि अपरान्हसम्म बसेको सरोकारबालाहरुको बैठकबाट आगामी शनिबारसम्म सहमतिको माध्यमबाट समस्या समाधानतर्फ नगर प्रमुख रामउदगार गोईत उन्मुख भएपछि तत्काल ताला खोलिएको हो ।
नगर प्रमुख राम उदगार गोईत, वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव र वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक यादव तथा स्थानीय प्रशासनको सँयुक्त बैठकबाट तत्काल ताला खोलेर कार्यसँचालन गर्न दिइने व्यवहारिक सहमतिपछि तत्कालको लागि मात्र ताला खोलिएको हो । वडा नम्बर ३ का वडाध्यक्ष विशेश्वर यादव कार्य व्यस्तता कारण बाहिर रहेको अवस्थामा फोन मार्फत सहमति जनाएपछि ताला खोलिएको हो ।

सो बैठकमा नगर प्रमुख गोइतले आम नागरिकलाई सास्ती नहुने गरी सहमति खोज्न भनेपछि वडाध्यक्षहरुले तत्काल व्यवहारिक रुपमा ताला खोल्न राजी भएका हुन् । आउँदो शुक्रवार वा शनिबारसम्म सम्पूर्ण पदाधिकारीहरुको बैठकबाट विवाद मिलाउने प्रयास गरिने भनेपछि तत्कालको लागि ताला खोलिएको हो ।
सो क्रममा असन्तुष्ट वडाध्यक्षहरुले शनिबारसम्म आन्तरिक किचलो कम गरी कटौती गरिएको योजना पुनः सम्पादन नगरे पुनः तालाबन्दी गर्ने चेतावनी दिए । उनीहरुले वर्तमान अवस्थालाई मध्यनजर गर्दै तत्कालको लागि मात्र शुक्रबारसम्म ताला खोलिएको जनाउँदै शनिबार समस्या समाधानको बाटो नखुले पुनः नगरपालिका अवरुद्ध गर्ने चेतावनी दिए ।
बैठकबाट तत्काल नगरपालिकाको कार्यालयको ताला खोलिएपनि योजना शाखा भने अवरुद्ध राख्ने भएको छ । वडाध्यक्षहरुले नगर प्रमुखले बारम्बार उधारोमा सहमति गरेको भन्दै यसपाली विश्वास गरेर ताला खोलिएपनि कटौती गरिएको योजना सम्पादन नभए ताला फेरी लगाउने चेताए ।
इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (इन्सपेक्टर) रबिन मैनाली र राम आदेश यादवको विशेष उपस्थितिमा तत्काल प्रशासनीक कार्य सँचालन गरी नागरिकलाई सहजता प्रदान गर्ने व्यवहारिक मौखिक सहमति भएको हो ।
“मेयर साहब, आफ्नो वाचाबाट पछाडी हटे हामी पुन तालाबन्दी गर्छौ । व्यवहारिक रुपमा र कोभिड १९ व्यवस्थापनको लागि सहज होस भन्ने उदेश्यले शुक्रबारसम्म तालाबन्दी खोलेका छौं , शनिबार योजनाहरु पुनः नसच्चिए हामी पुनः नगरपालिका अवरुद्धको विकल्पमा जानेछौं ।”– वडा नं. १ का वडाध्यक्ष राजकुमार यादवले भने ।

सोही क्रममा कार्यव्यस्तता देखाउँदै नगर प्रमुख गोईतले सकेसम्म शुक्रवार वा नभए शनिबार अनिवार्य सबै सदस्यहको बैठकको लागि बोलाउने र योजना सँशोधनको लागि कदम चालिने प्रतिबद्धता जाहेर गरे । त्यतिबेलासम्मको लागि कुनै पनि नयाँ योजनामाथि कार्य नहुने, सम्झौता, कार्यादेश लगायतका कुनै पनि कार्य नगर्ने प्रतिवद्धता पनि जाहेर गरे । उनले पुरानो योजनाको भुक्तानी वा अन्य कार्य भने गर्न दिन आग्रह वडाध्यक्षहरुसँग आग्रह गरे ।
वडाध्यक्षहरुले नयाँ योजनाको कुनै पनि कार्य गर्न नदिने यहाँसम्म की योजना शाखा नै पूर्ण रुपमा अवरुद्ध गरी नयाँ पुरानो योजना सम्बन्धी कुनै पनि कार्य हुन नदिने अडान राखेका छन् ।
आफूहरुले समेत तालाबन्दी गर्ने कुनै शौक नरहेको बताउँदै वडाध्यक्षहरुले मेयरको कार्यशैलीबाट बाध्य भएर तालाबन्दी गर्नुपरेको औल्याए । उनीहरुले आफूहरु पनि नागरिकको विकास गर्न चाहेको बताउँदै बाध्यतावश तालाबन्दी गर्नुपरेको पनि बताए ।
मेयर गोईतले मौखिक र व्यवहारिक रुपमा वडाध्यक्षहरुसँग ताला खोल्न आग्रह गरेपछि तत्कालको लागि भने योजना शाखा अवरुद्ध पार्ने शर्तमा ताला खोलिएको हो । त्यसको लागि वडाध्यक्षहरुले शाखाको निगरानी गर्ने तथा इलाका प्रहरी कार्यालय खजुरीले समेत प्रहरी परिचालन गरी प्रतिवद्धता अनुसार योजना शाखाको कार्य रोकेर दीर्घ सहमतिको बाटो खुल्ला गर्न मदत गर्ने भएको छ ।
योजना कटौती र फेरबदल विवादको मुख्य जड
नगर प्रमुख राम उदगार गोईतले आफूखुुसी योजनाहरु कटौती गरेको तथा योजनाहरु सम्पादन गरेको भन्दै वडाध्यक्षहरु तातिएका छन् । वडास्तरीय योजनाहरु कटौती गरी नगरस्तीय योजनामा समावेश गरेको भन्दै ४ वटा वडाका वडाध्यक्षहरु तातिएका हुन् ।
सोही योजनाहरुलाई पुनः पुरानै अवस्थामा सम्पादन गर्न दबाब स्वरुप तालाबन्दी गरिएको हो । नगरस्तरिय योजनामा राखिएको वडाका योजनाहरु वडास्तरमै राखेर कार्य सँचालन गर्न मेयर उपर दबाब छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…