प्रदेश २ को बारा र पर्सा सहित यी १४ जिल्लाको विद्यालयहरु एक महिनाको लागि बन्द
त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

२०७८ बैशाख ६ सोमबार, बिहान १०:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले प्रदेश नम्बर २ को बारा र पर्सा जिल्ला सहित १४ जिल्लाको शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको सहरी विकासमन्त्री प्रभु साहले जानकारी दिए ।
“कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी भएको छ । त्यसमा के–के पर्छन् भनेर पछि जानकारी हुनेछ ।" त्यस्तै २५ जनाभन्दा बढीको भेलामा पनि रोक लगाउने निर्णय भएको उनले बताए । मन्त्री साहका अनुसार अनलाइन कक्षा सञ्चालन हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
यसअघि शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेको थियो । तर शिक्षा मन्त्रालयलाई निजी विद्यालय सञ्चालकहरूले अहिले नै विद्यालय बन्द गर्न नहुने भन्दै दबाब दिएपछि सरकारले के गर्ने भन्ने अन्योल थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति प्रभावित भनी वर्गीकरण गरेका विभिन्न १४ जिल्लाका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको बताएको थियो ।
प्रदेश नम्बर २ को बारा र पर्सा सहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बागलुङलाई मन्त्रालयले अतिप्रभावित भनी वर्गीकरण गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…