प्रदेश २ मा कोभिड–१९ जोखिमको चिन्ता, बोर्डरमा सतर्कता अपनाऔंः मुख्यमन्त्री राउत
कोेभिड–१९ को जोखिमबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न मुख्यमन्त्री राउतले सबैमा अपील समेत गरे ।

२०७७ चैत २३ सोमबार, बेलुकी ६:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री मो. लालबाबु राउतले कोभिड–१९ को संक्रमण पैmलिन नदिनको लागि आवश्यक तयारी अगाडी बढाउन सरोकारबालाहरुलाई निर्देशन दिएका छन् ।
कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रणबारे आज जनकपुरमा बसेको प्रदेशस्तरीय बैठकमा उहाँले यस्तो निर्देशन दिएको हो । तत्कालै आत्तिनुपर्ने अवस्था नरहेपनि उच्च सतर्कतमा बस्न उनले सरोकारबालाहरुलाई निर्देशन दिए ।
छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा कोभिड–१९ संक्रमितको संख्या बढिरहेकोले यसको चपेटामा आउने जोखिम बढेको उनले थपे । सीमानाकामा आवश्यक सतर्कता अपनाउन उनले सुरक्षानिकायका प्रमुखहरुलाई निर्देशन दिए ।
अघिल्लो पटक पर्सा, सप्तरी लगायतको जिल्लाहरुमा नयाँ संक्रमित फेला परेको छ । विगतमा भएको त्रुटीहरु सुधार गर्दै थप प्रभावकारी तरिकाले तयारी अगाडी बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले जनकपुरको मणिपालमा सय शैय्याको कोभिड अस्पताल खडा गर्नको लागि आवश्यक तयारी गरिने जानकारी दिए । कोरोनाको पहिलो चरणमा पनि मुख्यमन्त्री राउतले मणिपाललाई कोभिड अस्पताल बनाउने भनेपछि अझै बनाउन सकेका छैनन् ।
कोभिड विरुद्धको अभियान अगाडी बढाउनुस् उनले भने–यसको लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्न तयार छ । कोरोना कालमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको तलब, भत्ता केही दिनभित्रै उपलब्ध गराउने उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयमार्पत सर्वसाधारणलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने उनले बताए । कोेभिड–१९ को जोखिमबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न मुख्यमन्त्री राउतले सबैमा अपील समेत गरे ।
समाजिक दूरी कायम गरेर दैनिक कामकाज गर्नुका साथै अनावश्यक भिडभाड नगर्न उनले आग्रह गरे । समाजिक विकास मन्त्री नवल किशोर साहले कोभिड–१९ महामारी विरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
उनीहरुको अथक प्रयासले प्रदेशमा कोभिड–१९ महामारी विरुद्धको अभियानमा सफल भएको मन्त्री साहको तर्क थियो । मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले कोभिड–१९ विरुद्धको अभियानमा देखिएको समस्याहरु तत्काल समाधान गर्नको लागि आग्रह गरे ।
बैठकमा नीति आयोगका उपाध्यक्ष डा। भोगेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी लगायत सचिव, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य क्षेत्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…