मधेशमा आजैदेखि 'होली' सुरु
कूल १३३ किलोमीटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा गरेर मिथिला माध्यमिकी यात्रा सम्पन्न गरिन्छ ।

२०७७ चैत ७ शनिबार, बेलुकी ६:१० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने माध्यमिकी परिक्रमाका श्रद्धालुहरुले आज महोत्तरीको कञ्चनवनमा होली खेलेपछि मधेशमा आजैदेखि होली पर्व सुरु भएको मानिन्छ ।
त्रेता युगमा मिथिला विहारमा निस्केका राम सीताले फागुन शुक्ल सप्तमीका दिन रङ्ग, अबिर खेलेका सम्झनामा परिक्रमा यात्रीले आज त्यसको सम्झना गर्दै होली पर्व शुरु गरेका हुन् ।
तराई मधेशमा माघ शुक्ल पञ्चमीदेखि नै वसन्त ऋतु शुरु हुने विश्वास गरिन्छ । यसै विश्वासमा माघ शुक्ल पञ्चमीदेखि फागुन पूर्णिमासम्म घरमा विवाह÷व्रतवन्ध र अन्य शुभकार्य हुँदा होस् वा सम्धी, भिनाजु घरमा पाहुना आउँदा होस्, हाँसख्यालमै रङ्ग अबिर लगाई दिने गरिन्छ ।
होली पर्वको विधिवत प्रारम्भ चाहीँ माध्यमिकी परिक्रमा कञ्चनवन आएर रामसीतालाई अबिर अर्पण गरेपछि नै मानिने गरिएको भङ्गाहा–९ कञ्चनवनका बासिन्दा ७० वर्षीय राजवीर यादव बताउँछन् ।
फागुन शुक्ल सप्तमी अर्थात् माध्यमिकी परिक्रमाको आठौँ दिन यात्री कञ्चनवन पुगेपछि न्वाइध्वाइ गरेर मध्याह्नकालमा रामसीताका प्रतिमालाई अबिर अर्पण गर्दै एकापसमा रङ, अबिर दलेर होली (फागु) खेलिन्छ ।
कञ्चनवनको यो होलीसँगै मिथिलामा पर्वको रौनक शुरु हुने र फागुन पूर्णिमाको भोलिपल्ट समापन हुने परम्परा रहेको छ ।
कञ्चनवनमा होली गीतसँगै रामसीता विवाह र उनीहरुको वनविहार कथा प्रसङ्ग भावका मङ्गल गीत जताततै गुञ्जिएको छ ।
यसरी गाइने गीतमा माध्यमिकी परिक्रमाका सबै रात्रि विश्रामस्थलका धार्मिक र पौराणिक महत्वसँगै रामसीताको जोडी निस्कँदा बस्तीबस्तीमा छाएको खुशी भावमा व्यक्त भएका सुनिन्छन् ।
मिथिला अतिथि सत्कार र तत्वज्ञानका लागि प्रसिद्ध रहेको यहाँका बुद्धिजीवी बताउँछन् । माध्यमिकी परिक्रमाको क्रममा यात्रामा आफन्त, कुटुम्वजन छन् भन्ने थाहा भएपछि आफ्नो घर नजिक पर्ने विश्रामस्थलमा उनीहरुका लागि मिष्टान्न विशेष परिकार बनाएर पु¥याउने आम प्रचलन छ ।
यसैअनुसार कञ्चनवनमा पनि यात्रामा रहेका आफन्त भेट्न बिभिन्न परिकारसहित कञ्चनवन वरिपरिका बासिन्दा पुगेका छन् । कञ्चनवनमा हुने यो भेटघाटमा अबिरको खेल अनिवार्यजस्तै रहेको भङ्गाहा–९ हरिनमरीका बासिन्दा ९० वर्षीय जितन यादव बताउँछन् ।
रामायणकालीन यो गाथाको पहिचान जिवन्त राख्न र कञ्चनवनको परिचय अझ बढी मुखरित गर्न नगर कार्यपालिकाले निरन्तर प्रयत्न गरिरहेको भँगहा नगरपालिकाका नगर प्रमख सँजीव साहको भनाइ छ ।
कञ्चनवनलाई धार्मिक पर्यटनको मुख्य केन्द्रका रुपमा विकास गर्न प्रादेशिक र सङ्घीय सरकारको समेत साथ चाहेको साहले बताए ।
मिथिलामा माध्यमिकी परिक्रमाको आठौं दिन कञ्चनवनमा श्रीराम जानकीलाई अबिर अर्पण गरी यात्रीले एकापसमा रङ्गअबिर खेलेपछि फागुपर्व शुरु हुने मान्यताअनुसार नै मिथिलामा रङ अबिर खेल्न सामाजिक स्वीकृति पाएका नाताबीच आपसमा होली (रङ, अबिर) खेल्न पाइने स्थापित मान्यता छ ।
कञ्चनवनको रात्रिवासपछि यात्रुहरु आफ्नो अघिल्लो यात्रामा रङअबिर खेल्दै अघि बढ्ने गरेका छन् । आज कञ्चनवनमा फागुको शुरुआत गरेर रात्रि विश्राम गरेपछि १५ दिने परिक्रमामा महोत्तरीको पाँचदिने यात्रा पूरा हुन्छ ।
अब भोलि नवौँ दिन यात्री महोत्तरी यात्रा पूरा गरेर धनुषा प्रवेश गर्नेछन् । यात्राको चौथो दिन मटिहानीबाट जिल्ला प्रवेश गरेका यात्रीले मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा चौथो, पाँचौँ, छैठौँ र सातौँ दिनको रात्रि विश्राम महोत्तरीमा पूरा गरिसकेका छन् ।
जम्मा १५ दिनको यात्रामा महोत्तरी जिल्लामा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चारगरि १५ रात्रि विश्रामस्थल रहँदै आएको परम्परा छ ।
कूल १३३ किलोमीटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा गरेर मिथिला माध्यमिकी यात्रा सम्पन्न गरिन्छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…