छठकै राती जनकपुरमा मोसाको ठक्करबाट युवकको मृत्यु, सुनुयोजित हत्या भएको आफन्तको आरोप
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमै रहेको प्रहरीले जनाएको छ ।

२०८३ कार्तिक ३० सोमबार, बेलुकी ६:२३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाममा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता, मृतकका आफन्तले भने घटना दुर्घटना नभई सुनियोजित रूपमा गराइएको आरोप लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार छठको राति करिब ९:३० बजे जनकपुरधाम उपमहानगरपालिका–१९ कठाइतस्थित भित्री सडकखण्डमा दुर्घटना भएको थियो ।
श्रीपुरबाट कठाइततर्फ जाँदै गरेको प्रदेश ०२–००४ प २०४६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मिथिला बिहारी नगरपालिका–९ कटरेज टोल निवासी २६ वर्षीय प्रशान्त कुमार यादवलाई ठक्कर दिएको थियो ।
ठक्करबाट यादवको टाउको, छाती र दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याइएकोमा चिकित्सकले राति करिब १०:३० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका थिए । प्रहरीले खोजतलास तथा अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब १२:२० बजे जनकपुरधाम उपमहानगरपालिका–१७ निवासी १९ वर्षीय सन्तोष मुखियालाई लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले दुर्घटनापछि फरार रहेका चालकलाई पहिचान गरी पक्राउ गरिएको जानकारी दिएका छन् ।
यता, मृतकका आफन्तले भने प्रशान्तलाई जानीजानी मोटरसाइकलले ठक्कर दिएर हत्या गरिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार पछाडिबाट ठक्कर लागेर भएको सामान्य दुर्घटनाभन्दा पनि योजनाबद्ध रूपमा मोटरसाइकल ठोकाएर घटना गराइएको हो ।
आफन्तले घटनालाई सामान्य सवारी दुर्घटनाका रूपमा मात्र नहेरी सम्भावित योजनाबद्ध आक्रमणको कोणबाट समेत अनुसन्धान गर्न माग गरेका छन् ।
दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमै रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफन्तले लगाएको योजनाबद्ध हत्याको आरोपबारे प्रहरीले पुष्टि गरिसकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…