सुनसरीमा छठ घाट तोडफोड, रिजवान मन्सुरी र जाहुर मियाँ नामक युवक पक्राउ
तोडफोडबाट क्षति पुगेको छठ पूजास्थल स्थानीय प्रशासन र प्रहरीको पहलमा तत्काल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको छ ।
२०८३ कार्तिक ३० सोमबार, बिहान ७:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ का १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जाहुर मियाँ रहेका छन् । उनीहरूमाथि हरिनगर गाउँपालिका–६ स्थित ताप्रा अर्ना घाटमा निर्माण गरिएको छठ पूजास्थलमा तोडफोड गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार साँझ करिब ७:३० बजे उक्त घटना भएको थियो । साँझको अर्घ्य दिएर श्रद्धालुहरू घर फर्किएपछि पूजास्थलमा तोडफोड गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चन्द्रबहादुर खड्काले घटनामा संलग्न दुवै जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
तोडफोडबाट क्षति पुगेको छठ पूजास्थल स्थानीय प्रशासन र प्रहरीको पहलमा तत्काल पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याइएको छ ।

धार्मिक आस्थासँग जोडिएको पूजास्थलमा तोडफोड भएपछि स्थानीय क्षेत्रमा चासो बढेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
Aadarsh Singh
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…