छठ मनाउन काठमान्डौँबाट घर फर्किँदै गरेका १० जनाको दुर्घटनामा मृत्यु, पाँच घाइते
प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६:१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

२०८३ कार्तिक २६ बिहीबार, बिहान १०:११ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, हेटौडा । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही घर फर्किँदै गरेका यात्रु सवार विद्युतीय गाडी (ईभी) मकवानपुरमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६:१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनालगत्तै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो । घाइते पाँचै जनालाई उद्धार गरी उपचारका लागि पठाइएको विवरण प्राप्त भएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दुर्घटनामा १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जानकारी दिएका छन् ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । मृतकहरूको पहिचान तथा घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।
छठ पर्व मनाउन घर फर्किने क्रममा भएको यस दुःखद दुर्घटनाले सर्लाहीसहित मधेस प्रदेशका नागरिकलाई स्तब्ध बनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…