रसगुल्ला भन्दै साथीले खुवाए बम, चपाउनेबित्तिकै मुखमै विस्फोट हुँदा एक जनाको मृत्यु
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्रलाई विस्फोटक पदार्थ दिने रामभगत र जंगलमा उक्त वस्तु फेला पारेर उनलाई उपलब्ध गराउने अर्का व्यक्ति रहेका छन् ।

२०८३ कार्तिक २८ शनिबार, बिहान ९:२३ बजे२ मिनेट पढाइ
भारत । भारतको मध्य प्रदेशस्थित डिन्डोरी जिल्लामा रसबरी भन्दै साथीले दिएको विस्फोटक पदार्थ चपाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३५ वर्षीय राजेन्द्र बरौतिया रहेका छन् । जंगली सुँगुर मार्न प्रयोग गरिने घरेलु बमलाई रसबरी भन्दै खुवाइएपछि मुखमै विस्फोट भएको थियो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटना नोभेम्बर १० मा डिन्डोरीको कोतवाली प्रहरी क्षेत्रअन्तर्गत पर्ने पडरिया छाँटा गाउँमा भएको हो । प्रहरीका अनुसार राजेन्द्रका छिमेकी तथा साथी रामभगत सिंह बरौतियाले उनलाई सानो बलजस्तो देखिने विस्फोटक पदार्थ रसबरी भन्दै दिएका थिए ।
घटनाका बेला राजेन्द्र घरको आँगनमा परिवारका सदस्यसँग आगो तापिरहेका थिए । सोही क्रममा रामभगत त्यहाँ पुगेपछि दुवै जना कुराकानी र हाँसोठट्टा गर्न थाले । त्यसैबीच रामभगतले दीपावलीको प्रसंग निकाल्दै राजेन्द्रलाई रसबरी भन्दै उक्त वस्तु चाख्न दिए ।
राजेन्द्रकी पत्नी सुशीला बाईका अनुसार श्रीमान्ले मुखमा हालेर चपाउनेबित्तिकै वस्तु विस्फोट भएको थियो । विस्फोटबाट उनको अनुहार र बंगारामा गम्भीर चोट लागेको थियो ।
परिवारका सदस्यले तत्काल अटोरिक्सामार्फत उनलाई डिन्डोरी जिल्ला अस्पताल पुर्याएका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्रलाई विस्फोटक पदार्थ दिने रामभगत र जंगलमा उक्त वस्तु फेला पारेर उनलाई उपलब्ध गराउने अर्का व्यक्ति रहेका छन् ।
प्रहरीका अनुसार जंगलमा विस्फोटक पदार्थ कसले र किन राखेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा मृतक र पक्राउ परेका व्यक्तिबीच पुरानो दुश्मनी रहेको तथ्य फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट विस्फोटक पदार्थका अवशेष तथा अन्य नमुना संकलन गरी परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाउने तयारी गरेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध भारतीय न्याय संहिताको धारा १०५ तथा विस्फोटक पदार्थ ऐनको धारा ३ र ४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
भारतका ग्रामीण क्षेत्रमा जंगली सुँगुर मार्न खानेकुराभित्र विस्फोटक पदार्थ लुकाएर राख्ने गरेको पाइन्छ । जनावरले त्यस्तो वस्तु चपाउँदा मुखमै विस्फोट हुने जोखिम रहन्छ । यस्ता विस्फोटक पदार्थ मानिसको सम्पर्कमा आउँदा पनि ज्यानै जानेसम्मका दुर्घटना हुन सक्ने भएकाले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…