गएराती छठ घाटमै आक्रमण, धनुषा बटेश्वरका पूर्व अध्यक्ष उम्मेदवारसहित दुई जना पक्राउ
प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ भने घटनामा संलग्न भएको आरोपमा श्यामसुन्दर महतो र मनोज महतो पक्राउ परेका छन् ।

२०८३ कार्तिक ३० सोमबार, दिउँसो ४:०८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरस्थित धनुष मन्दिर नजिक छठ पर्व मनाइरहेका स्थानीयमाथि कुटपिट भएको छ । घटनामा दुई जना घाइते भएका छन् भने प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पीडित पक्षका अनुसार छठ पर्वका अवसरमा आफ्नै घाटमा बसेर पूजा गरिरहेको अवस्थामा सोही वडाका श्यामसुन्दर महतो, उनका भाइ मनोज महतो, दाइ, भतिजा र स्थानीय रोहित यादवसहितको समूहले आफू र आफ्ना बुवा तथा आमामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।
पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको बयानमा आक्रमणबाट आफू र बुवाको ज्यानसमेत जान सक्ने अवस्था आएको दाबी गरेका छन् । स्थानीयवासीको हस्तक्षेपका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको र प्रहरी बोलाएपछि स्थानीयको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ ।
पीडितले स्थानीय तह निर्वाचनमा बटेश्वर गाउँपालिका अध्यक्षका उम्मेदवार रहेका श्यामसुन्दर महतोसहितको समूहले आक्रमण गरेको आरोप लगाएका छन् । साथै, पक्राउ परेका व्यक्तिलाई छुटाउन राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदले पहल गरिरहेको दाबी गर्दै सरकारसँग निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओम प्रकाश खनालका अनुसार घटना झैझगडाको सामान्य प्रकृतिको रहेको छ । पुरानो रिसइबीका कारण झैझगडा भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए ।
महतो दाजुभाईले आक्रमण गर्दा स्थानीय श्याम सुन्दर साह र सत्यनारायण घाईते भएका छन् । उनीहरुको टाउकोमा गम्भिर चोट लागेको देखिएको छ ।
प्रहरीका अनुसार घटनामा दुई जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ भने घटनामा संलग्न भएको आरोपमा श्यामसुन्दर महतो र मनोज महतो पक्राउ परेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…