समयअगावै बनेको पुल भन्दै मन्त्रीले लेखेपछि फेसबुकमा उड्यो खिल्ली, १५ वर्षे अलपत्र पुलको पनि उठ्यो प्रश्न
सयौँ फेसबुक प्रयोगकर्ताले मन्त्री लम्सालको स्टेटसप्रति व्यँग गरेको देखिएको छ ।

२०८३ कार्तिक ३० सोमबार, बिहान ९:२८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, झापा । पूर्वाधार विकासमन्त्री इन्जिनियर सुनील लम्सालले झापाको कनकाई नदीमाथि निर्माण भएको पुल समयअगावै सम्पन्न भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनको दाबीमाथि नागरिकले प्रश्न उठाएका छन् । मन्त्रीको पोस्टमा आएका प्रतिक्रियामा पुल सम्पन्न भएको समयसीमा, निर्माणको श्रेय र वर्षौंदेखि अलपत्र अर्को कनकाई पुलको अवस्थाबारे प्रश्न गरिएको छ ।
मन्त्री लम्सालले शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका जोड्ने पुलको ठेक्का सम्झौता २०७९ पुस ११ गते भएको र २०८३ असोज १० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने तालिका रहेको उल्लेख गरेका छन् । निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न गरी पुल पूर्ण रूपमा सञ्चालनमा ल्याइएको उनको दाबी छ ।
तर, मन्त्रीको पोस्टमै टिप्पणी गर्ने अनमोल कार्कीले २०८३ असोजमा सम्पन्न गर्नुपर्ने पुल कात्तिकमा सम्पन्न हुँदा कसरी समयअगावै भयो भन्दै प्रश्न गरेका छन् । उनले निर्धारित समयमा सम्पन्न भएको भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् ।
त्यस्तै, केशव श्रेष्ठले पनि असोजमा सम्पन्न गर्नुपर्ने पुल मंसिर लागिसक्दा मात्रै सम्पन्न भएको अवस्थामा कसरी समयअगावै सम्पन्न भएको भन्दै प्रश्न गरेका छन् । ह्यारी भट्टराईले २० वर्षमा बनेको पुललाई समयअगावै बनेको भन्नु हास्यास्पद भएको आशय व्यक्त गर्दै व्यंग्य गरेका छन् ।
यस विषयमा सार्वजनिक भएका विवरणले पनि मन्त्रीको दाबीमाथि प्रश्न उठाउने आधार देखाउँछन् । कान्तिपुर दैनिकले २०८३ जेठ ८ गते प्रकाशित गरेको समाचारअनुसार शिवगञ्ज–मदरगाछ पुलको निर्माण २०८० फागुन १० गते सुरु भएको थियो । निर्माण सम्पन्न गर्ने म्याद २०८३ असोज १० गते तोकिएको थियो । उक्त समाचारमा निर्माण कम्पनीले म्यादभन्दा अगावै काम सक्ने तयारी गरिरहेको उल्लेख थियो । तर, मन्त्रीले पुल सञ्चालनमा आएको घोषणा गरेको कात्तिक २९ गतेसम्म आइपुग्दा तोकिएको असोज १० को समयसीमा बितिसकेको थियो ।
यसैबीच, मन्त्रीको पोस्टमा अर्को कनकाई पुलको विषयले पनि चर्चा पाएको छ । झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कनकाई पुल १५ वर्षदेखि अलपत्र रहेको भन्दै स्थानीयले मन्त्रीसँग जवाफ मागेका छन् ।
सुबोध केसीले १५ वर्षदेखि अलपत्र रहेको उक्त पुलको ठेक्काको अवस्था के छ भन्दै प्रश्न गरेका छन् । उनले पुल नहुँदा स्थानीय र विद्यार्थीले भोगिरहेको दुःखबारे उल्लेख गर्दै काम कहिले सुरु हुने र कहिले सम्पन्न हुने भन्ने स्पष्ट जानकारी मागेका छन् ।
राघव यादवले पनि झापा गाउँपालिका र गौरीगञ्ज जोड्ने हुलाकी राजमार्गको पुल निर्माण सुरु भएको १५ वर्ष पुगिसक्दा पनि सम्पन्न हुन नसकेको भन्दै आश्वासन होइन, निर्माण सम्पन्न हुने निश्चित मिति सार्वजनिक गर्न माग गरेका छन् ।
वास्तवमा कनकाई नदीमा यी दुई पुल फरक–फरक स्थानमा छन् । कान्तिपुरको विवरणअनुसार शिवगञ्ज–मदरगाछ पुल करिब ७०१ मिटर लामो छ भने हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज जोड्ने अर्को पुल करिब ७२५ मिटर लामो छ । यी दुई पुलबीच करिब ११ किलोमिटर दूरी छ ।
हुलाकी राजमार्गको पुल निर्माणका लागि २०६८ जेठ ३१ गते ठेक्का सम्झौता भएको थियो । २०७२ जेठ २९ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त पुल १४ वर्षमा ५६ प्रतिशत मात्रै निर्माण भएको थियो । लामो समय अलपत्र परेपछि २०८२ मंसिर ११ गते तत्कालीन भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले ठेक्का तोडेका थिए । त्यसपछि पनि नयाँ निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
मन्त्रीको पोस्टमा छेत्री श्रेष्ठले एउटा पुल समयअगावै सम्पन्न हुनु स्वागतयोग्य भए पनि विकास निर्माणको सुरुवात वर्तमान सरकारबाट मात्रै नभएको टिप्पणी गरेका छन् । अघिल्ला सरकारका कामको जस लिने र कमजोरीको दोष अरूलाई थोपर्ने प्रवृत्ति त्यागेर विकासमा प्रतिस्पर्धा गर्नुपर्ने उनको सुझाव छ ।
यसरी एउटा पुल सञ्चालनमा आउनु स्थानीयका लागि सकारात्मक उपलब्धि भए पनि त्यसलाई समयअगावै सम्पन्न भएको दाबी गर्दा निर्माण सम्झौताको समयसीमा र वास्तविक सम्पन्न मितिबीचको तथ्य स्पष्ट हुनुपर्ने नागरिकको चासो कमेन्टमा देखिएको छ ।
सयौँ फेसबुक प्रयोगकर्ताले मन्त्री लम्सालको स्टेटसप्रति व्यँग गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…