जनकपुरः भारतबाट ल्याएको लाख बढीको फूलमाला प्रहरीले गर्यो नष्ट, गरिबलाई दिँदा के हुन्थ्यो र ? भन्ने उठयो प्रश्न
यस विषयमा कानुनी प्रक्रिया र फूलको अवस्थालाई ध्यानमा राख्दै बरामद वस्तुको नष्ट गर्ने प्रक्रियासँगै सम्भावित सदुपयोगको विकल्पबारे पनि सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ ।

२०८३ कार्तिक २३ सोमबार, बिहान ८:१० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएको भन्दै धनुषामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा सयपत्री फूल बरामद गरी नष्ट गरेको छ । तर प्रयोग गर्न सकिने फूल नष्ट गर्नुभन्दा गरिब तथा विपन्न परिवारलाई वितरण गर्न सकिने विकल्पबारे अहिले प्रश्न उठ्न थालेको छ ।
सशस्त्र प्रहरी बलले धनुषाको देवडिहा र फुलगामा क्षेत्रबाट अवैध रूपमा भित्र्याइएका फूल बरामद गरेको थियो । देवडिहा क्षेत्रबाट १ लाख २४ हजार रुपैयाँ बराबरको १३० केजी सयपत्री र ३० केजी रजनिगन्धा फूल बरामद गरिएको थियो ।
त्यस्तै, फुलगामा क्षेत्रबाट करिब १ लाख ४० हजार रुपैयाँ बराबरको २०० केजी सयपत्री फूल बरामद गरिएको थियो । बरामद फूल स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भन्सार कार्यालयका प्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा खाल्डो खनेर नष्ट गरिएको थियो ।
अवैध आयात नियन्त्रण गर्नु र नेपाली किसानले उत्पादन गरेका फूलको बजार संरक्षण गर्नु सुरक्षा निकायको दायित्व हो । तर बरामद गरिएका फूल प्रयोग गर्न योग्य थिए वा थिएनन् र कानुनी प्रक्रियापछि तिनको सदुपयोग गर्न सकिने अवस्था थियो कि थिएन भन्ने विषयमा पनि चासो व्यक्त गरिएको छ ।
स्थानीय स्तरमा उठेको प्रश्नअनुसार कानुनी प्रक्रिया पूरा गरेर प्रयोग गर्न मिल्ने अवस्था भए त्यस्ता फूल गरिब तथा विपन्न परिवार, मठमन्दिर र सार्वजनिक स्थलमा निःशुल्क वितरण गर्न सकिन्थ्यो ।
चाडपर्वका बेला एउटा फूलसमेत किनेर घर सजाउन नसक्ने विपन्न परिवारका लागि सयपत्री फूल उपयोगी हुन सक्थ्यो । प्रयोग गर्न मिल्ने फूल नष्ट गर्नुभन्दा त्यसको सदुपयोग गर्दा सामाजिक रूपमा समेत सकारात्मक सन्देश जाने उनीहरूको तर्क छ ।
यस विषयमा कानुनी प्रक्रिया र फूलको अवस्थालाई ध्यानमा राख्दै बरामद वस्तुको नष्ट गर्ने प्रक्रियासँगै सम्भावित सदुपयोगको विकल्पबारे पनि सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…