जनकपुरको काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले राति १२ बजेर २० मिनेटमा होटलमा छापा मारेको थियो ।

२०८३ कार्तिक २३ सोमबार, बिहान ८:२९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधामस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ बंशीचोकस्थित काली होटल एण्ड रेष्टुरेन्टमा शुक्रबार राति प्रहरीले छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले राति १२ बजेर २० मिनेटमा होटलमा छापा मारेको थियो ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–४ का ५२ वर्षीय सुनचाँदी व्यवसायी अरविन्द ठाकुर, सोही ठाउँका ३२ वर्षीय होटल सञ्चालक सुनिल कुमार साह, महोत्तरीको लोहारपट्टी नगरपालिका–२ का ४६ वर्षीय गुलाम मुस्तफा, मनराशिशवा नगरपालिका–७ का २७ वर्षीय कृष्ण महतो र सर्लाहीको पर्सा गाउँपालिका–१ का २२ वर्षीय प्रशान्त यादव रहेका छन् ।
प्रहरीले जुवाखालबाट नगद ८८ हजार २८० रुपैयाँ, विभिन्न व्यक्तिका ६ थान मोबाइल र १३ सेट ताससमेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार होटलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी उनीहरूलाई पक्राउ गरिएको हो ।
उनले जुवातासलगायत गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको बताए ।
पक्राउ परेका पाँचै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…