धनुषाको हँसपुर बेल्हीमा प्रथम वडा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु
बेल्हीमा पहिलो पटक आयोजना गरिएको वडा अध्यक्ष कपले स्थानीय खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै युवाहरूको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ ।

२०८३ कार्तिक २१ शनिबार, राति ८:२२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–५ बेल्हीमा प्रथम वडा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
जय माँ लक्ष्मी पूजा मेला समिति हंसपुर नगरपालिका–५ बेल्हीको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो ।
मेला समितिका अध्यक्ष विजय यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा हंसपुर नगरपालिकाकी कार्यवाहक नगर प्रमुख दुर्गी देवी मण्डल प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख रामज्ञान मण्डल, वडा नम्बर ५ का अध्यक्ष रामबली मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा नम्बर ४ का अध्यक्ष लालबाबु यादव तथा जिल्ला भलिबल संघका अध्यक्ष भुवनेश्वर यादव, उपाध्यक्ष बेचन साह र सचिव प्रविण झाको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा वक्ताहरूले खेलकुदले युवामा अनुशासन, आपसी सद्भाव, एकता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उल्लेख गर्दै स्थानीयस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।
स्थानीय क्षेत्रमा भलिबल खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान र युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभिन्न क्षेत्रका खेलाडीहरूको सहभागिता रहने जनाइएको छ । उद्घाटन समारोहमा सहभागी अतिथिहरूले खेलाडीलाई खेल भावना र अनुशासन कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिएका थिए ।
बेल्हीमा पहिलो पटक आयोजना गरिएको वडा अध्यक्ष कपले स्थानीय खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै युवाहरूको प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…