पत्रकारमाथि आक्रमणको आरोपमा वडाध्यक्षका छौरा गिरजा यादव पक्राउ, अदालतमा उपस्थित
प्राप्त जानकारीअनुसार, गिरजा यादवलाई २०८३ साल कात्तिक १३ गते पक्राउ गरिएको थियो । पक्राउ परेको केही दिनपछि उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।

२०८३ कार्तिक २१ शनिबार, बिहान ८:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । निर्माणाधीन सडकको गुणस्तरबारे स्थलगत रिपोर्टिङ गरिरहेका पत्रकार गोविन्द यादवमाथि आक्रमण गरेको आरोप लागेका गिरजा यादव पक्राउ परेका छन् । पक्राउ परेका यादवलाई शुक्रबार अदालतमा उपस्थित गराइएको छ ।
कर्जन्हा नगरपालिका–७ का वडा अध्यक्ष रामसेवक यादवका छोरा अन्दाजी २१ वर्षीय गिरजा यादवविरुद्ध रिस, आवेग वा उत्तेजनामा कुटपिट गरेको सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध मुद्दा नम्बर २११ दर्ता गरिएको जनाइएको छ ।
रेडियो धनुषाधाममा कार्यरत पत्रकार गोविन्द यादव निर्माणाधीन आरसीसी सडक ढलानको गुणस्तरबारे स्थलगत रिपोर्टिङ गरेर फर्किने क्रममा आक्रमणमा परेका थिए । आक्रमणबाट उनको टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा टाउकोमा तीनवटा टाँका लगाइएको थियो ।
प्राप्त जानकारीअनुसार, गिरजा यादवलाई २०८३ साल कात्तिक १३ गते पक्राउ गरिएको थियो । पक्राउ परेको केही दिनपछि उनलाई शुक्रबार अदालतमा उपस्थित गराइएको हो ।
घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति र सिरहा शाखाले गम्भीर ध्यानाकर्षण जनाउँदै आक्रमणको निन्दा तथा भर्त्सना गरेका थिए । महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, घाइते पत्रकारको उपचार तथा सुरक्षा सुनिश्चित गर्न र पत्रकारले निर्भीक रूपमा काम गर्न पाउने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको थियो ।
सडक निर्माणको गुणस्तरबारे समाचार संकलन गर्ने क्रममा पत्रकारमाथि भएको आक्रमणले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको विषयलाई पुनः चर्चामा ल्याएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।




















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…