जनकपुरमा दुई मोसा ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते, अस्पतालमा तोडफोड, प्रहरीले गरे लाठीचार्ज
केही व्यक्तिले अस्पतालको मूल गेटमा ढुङ्गा प्रहार गर्दा बोर्डमा सामान्य क्षति

२०८३ कार्तिक १ आइतबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियापुलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर र एक जनाको मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०२–००९ प ११५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ज ११ प ३०५८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम–१७ निवासी १८ वर्षीय सुजित यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार २५ वर्षीय बलराम यादवको खुट्टामा चोट लागेको छ । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ निवासी २० वर्षीय रामपुकार यादवको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने सोही मोटरसाइकलमा सवार ३४ वर्षीय अखलेश यादवको दाहिने खुट्टा भाँचिएको छ । दुवै जनाको जनकपुरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि मृतकका आफन्तहरू उपचारमा ढिलाइ भएको भन्दै प्रादेशिक अस्पतालमा भेला भएर विवाद गरेका थिए । त्यसक्रममा केही व्यक्तिले अस्पतालको मूल गेटमा ढुङ्गा प्रहार गर्दा बोर्डमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ढुङ्गा प्रहारमा संलग्न रहेको आरोपमा जनकपुरधाम–१७ निवासी २० वर्षीय गणेश यादवलाई नियन्त्रणमा लिइएको छ । घटनास्थलमा भेला भएका अन्य व्यक्तिलाई सामान्य बल प्रयोग गरी तितरबितर पारिएको प्रहरीले जनाएको छ ।
अस्पतालमा तोडफोड गरेपछि धनुषा प्रहरीले बल प्रयोग गरेको जनाइएको छ । प्रहरीले समान्य लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।
मृतक परिवारजनका अनुसार, प्रादेशिक अस्पतालको ईमरजेन्सीमा भर्ना गर्दा चिकित्सकहरुको हेलचेक्राईयले मृत्यू भएको हो । यद्यपी, अस्पतालले भने सो आरोप अस्विकार गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…