भीमफेदी दुर्घटनाका १३ जनाको एकै ठाउँमा अन्त्येष्टि, प्रदेश सरकारले जनही १ लाख राहत दिने
मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका थिए भने एक जना हायस चालक रहेका थिए ।

२०८३ कार्तिक २८ शनिबार, बिहान ९:५५ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मकवानपुरको भीमफेदीमा भएको दर्दनाक सवारी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ ।
बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका १३ जनाको शव शुक्रबार साँझ गाउँ पुर्याइएको थियो । उनीहरूको लखन्देही नदी किनारमा एकै ठाउँमा सामूहिक रूपमा अन्तिम संस्कार गरिएको हो ।
एउटै गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर शोकमा डुबेको छ । आफन्त, छिमेकी तथा स्थानीयवासीको उपस्थितिमा मृतकहरूको अन्तिम संस्कार गरिएको हो ।
यसैबीच मधेश प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्र साहले जानकारी दिएका छन् ।
बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारले जनही १० लाख रुपैयाँ क्षतिपूर्ति, परिवारका एक सदस्यलाई रोजगारी तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए ।
सरकारले गठन गरेको दुर्घटना छानबिन समिति र पीडित परिवारबीच शुक्रबार सहमति भएपछि शव बुझ्ने र पोस्टमार्टम गर्ने प्रक्रिया अघि बढेको थियो । सहमतिअनुसार कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन पहल गर्ने र थप सहयोगका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आग्रह गर्ने निर्णय भएको थियो ।
बिहीबार बिहान काठमाडौंबाट छठ पर्व मनाउन सर्लाही फर्कँदै गरेको विद्युतीय हायस चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।
मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका थिए भने एक जना हायस चालक रहेका थिए ।
दुर्घटनापछि एउटै गाउँका १३ जनाको मृत्यु हुँदा सुन्दरपुरमा ठूलो शोक छाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…