१८० को स्पीडमा कार चलाउँदै मोसा चालकलाई उडाएका शिवशंकर यादव अढाई वर्षपछि पक्राउ
दुर्घटनापछि कार चालक धनुषाको कमला नगरपालिका–८ सोनापारा टोल निवासी २५ वर्षीय शिवशंकर यादव घटनास्थलबाट फरार भएका थिए ।

२०८३ कार्तिक २६ बिहीबार, बेलुकी ५:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँस्थित सेन्ट्रल अस्पतालअगाडि भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि फरार भएका कार चालक शिवशंकर यादव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सवारी ज्यान मुद्दाका फरार अभियुक्त यादवलाई घटनाको करिब साढे दुई वर्षपछि पक्राउ गरिएको हो ।
२०८० चैत १३ गते बिहान करिब ६:१५ बजे जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका–६ स्थित सेन्ट्रल अस्पतालअगाडि भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
डीएल १२ सी ०९४४ नम्बरको कारले प्रदेश २–०२–००४ प ६९४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीको लोहरपट्टी नगरपालिका–४ निवासी रामबाबु साह गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनापछि कार चालक धनुषाको कमला नगरपालिका–८ सोनापारा टोल निवासी २५ वर्षीय शिवशंकर यादव घटनास्थलबाट फरार भएका थिए ।
फरार यादवको निरन्तर खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई सिरहाको मिर्चैया क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैयाको समन्वयमा यादवलाई २०८३ कात्तिक २५ गते दिउँसो करिब ३:२० बजे पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवमाथि प्रचलित कानुनबमोजिम कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…