मधेशको महापर्व 'छठ' आजदेखि सुरु, NTC र Ncell ले बजाएनन् छठको धुन, सामाजिक सञ्जालमा विरोध
यस पर्वमा व्रतालुहरूले शुद्धताका साथ पूजा सामग्री तयार गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।

२०८३ कार्तिक २७ शुक्रबार, दिउँसो ४:५६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महापर्वका रूपमा परिचित छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ । तर, छठ पर्वको आगमनसँगै मोबाइल फोनमा बज्ने गरेको छठको परम्परागत धुन यस वर्ष नेपाल टेलिकम (एनटीसी) र एनसेलले नराखेपछि सामाजिक सञ्जालमा विरोध सुरु भएको छ ।
विगतका वर्षहरूमा छठ पर्वको अवसरमा नेपाल टेलिकम र एनसेलका मोबाइल प्रयोगकर्ताले फोन गर्दा छठसम्बन्धी गीत तथा धुन सुन्न पाउने व्यवस्था थियो । छठको आगमनसँगै मोबाइलमा बज्ने यस्ता धुनले पर्वको उल्लास र सांस्कृतिक वातावरणलाई थप जीवन्त बनाउने गरेको थियो ।
तर, यस वर्ष दुवै दूरसञ्चार सेवा प्रदायकले छठको धुन नबजाएपछि विशेषगरी मधेशका प्रयोगकर्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले मधेशको पहिचान, संस्कृति र आस्थासँग जोडिएको छठ पर्वमा दूरसञ्चार कम्पनीहरूले विगतको परम्परालाई निरन्तरता नदिएको भन्दै प्रश्न उठाएका छन् । उनीहरूले छठको धुन केवल मनोरञ्जन नभई सांस्कृतिक पहिचानसँग जोडिएको विषय भएको टिप्पणी गरेका छन् ।
मधेशमा छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक पहिचानको प्रतीकका रूपमा मनाइन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज नहाय–खाय विधि गरिँदैछ ।
यस पर्वमा व्रतालुहरूले शुद्धताका साथ पूजा सामग्री तयार गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…