छठ मनाउन घर फर्किँदै गरेका १४ जनाको माइक्रोबस दुर्घटनामा मृत्यु, एकै परिवारका ६ जना, शोकमा डुब्यो गाउँ
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।

२०८३ कार्तिक २७ शुक्रबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् ।
काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही घर फर्किरहेका यात्रु सवार मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस आज बिहान दुर्घटनामा परेको हो । माइक्रोबस सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका अवधेश यादवको परिवारका छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उनकी श्रीमती ३५ वर्षीया पुनम देवी यादव, छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव तथा उनका दुई भाइ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा माइक्रोबस चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डलसहित अन्य यात्रुको पनि मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।
घाइतेमध्ये मुकेश, सक्षम र २६ वर्षीय देवेन्द्र उपचारपछि डिस्चार्ज भएका छन् । सुजन र सुदीपलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्रलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
छठ पर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेपछि सर्लाहीको चक्रघट्टासहित प्रभावित परिवार र गाउँमा शोक छाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।



















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…