रास्वपा सांसद रहबर अन्सारी सहभागी चियापानमा घण्टीका कार्यकर्ताबीच टनाटन, सडकमै थुराथुर
आफ्नै पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम दुई पक्षबीचको झडपमा परिणत भएपछि रास्वपाको स्थानीय संगठनभित्रको विवादसमेत चर्चामा आएको छ ।

२०८३ कार्तिक २७ शुक्रबार, बिहान १०:१४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको चियापान तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीकै दुई पक्षबीच कुटाकुट भएको छ ।
रास्वपाका प्रतिनिधिसभा सदस्य रहबर अन्सारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विवाद चर्किएपछि झडप भएको हो । झडपमा दुवै पक्षका १० जनाभन्दा बढी कार्यकर्ता घाइते भएका छन् ।
बिहीबार छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा स्थानीय कार्यकर्ता असलम देवान र सुवास मन्सुरी पक्षबीच विवाद सुरु भएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्ने क्रममा सुरु भएको भनाभन व्यक्तिगत रिसइबी र आरोप–प्रत्यारोप हुँदै कुटाकुटमा परिणत भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले बताएका छन् ।
प्रहरीका अनुसार चियापान कार्यक्रम सकिएपछि सांसद अन्सारी कार्यक्रमस्थलबाट बाहिरिसकेका थिए । त्यसपछि दुई पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण बनेको थियो । झडप नियन्त्रण गर्ने क्रममा एक प्रहरीसमेत सामान्य घाइते भएका छन् ।
घाइतेहरूलाई वीरगञ्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पताललगायत विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । तर अस्पतालमा उपचार भइरहेकै बेला दुवै पक्षका कार्यकर्ताबीच पुनः विवाद र झडप भएको थियो ।
अस्पताल परिसरमै तनाव बढेपछि प्रहरीले थप हस्तक्षेप गरेको थियो । इलाका प्रहरी कार्यालय सिमराले पाँच जना र वीरगञ्जस्थित इलाका प्रहरी कार्यालय श्रीपुरले नौ जनालाई नियन्त्रणमा लिएको तथा प्रहरीले घटनामा संलग्नहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
आफ्नै पार्टीले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम दुई पक्षबीचको झडपमा परिणत भएपछि रास्वपाको स्थानीय संगठनभित्रको विवादसमेत चर्चामा आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…