जनकपुर रेल्वेमा लिखित परीक्षा पनि लिने तयारी
योग्ता र मौखिकलाई आधार बनाइएपनि अब परीक्षातर्फ जाने कुरा भइरहेकोले निर्णय भएलगत्तै सूचना प्रकाशित गरिने - महाप्रबन्धक गुरु भट्टराई

२०७७ असोज २४ शनिबार, बिहान ७:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर–जयनगर रेल्वेमा हालै माग गरिएको आवेदन अनुसार उम्मेदवारहरुसँग लिखित परीक्षा समेत लिने तयारी गरिएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले माग गरिएको २९ पदको लागि १२९ जना कर्मचारीलाई लिखित परीक्षा समेत लिने आन्तरिक तयारी गरिएको बताइएको छ । २९ पदको लागि कुल ३२ हजार ६ सय ८६ जनाले अनलाईन फाराम भरेका छन् ।
गोरखापत्रमा प्रकाशित गरिएको सूचना विज्ञापनमा अनलाईन फाराम भरेपछि निश्चित मितिमा अन्तरवार्ताको मात्र लिएर कर्मचारी भर्ना गरिएपनि निष्पक्ष रुपले कर्मचारी भर्ना हेतु योग्यताको आधारमा लिखित परीक्षा लिएर मात्रै भर्ना गर्ने प्रक्रियामा जुटेको महाप्रबन्धक भट्टराईको कथन छ ।
विज्ञापन आह्वान गर्दा रेल्वेले अन्र्तवार्ता प्रक्रियाबाट कर्मचारी पदपूर्ति गरिने जनाएको थियो। यसअघि छनौटमा परेका योग्य उम्मेदवारमध्ये अन्र्तवार्तामा उत्कृष्ट ठहरिनेलाई जागिर दिइने रेल्वेले जनाएको थियो।
तर, अहिले उम्मेदवारहरुको लिखित परीक्षा लिने तयारी रेल्वेले गरेको छ। नेपाल रेल्वे कम्पनीका प्रबन्धक गुरु भट्टराईले पदपूर्ति गर्न दरखास्त दिएका उम्मेदवारहरुको लिखित परीक्षा लिने तयारी भइरहेको बताएका छन्।
‘यसअघि छनौटमा परेका उम्मेदवारहरुको अन्तर्वार्ता गर्ने सोच बनाएका थियौं,’ भट्टराईले भने,‘कर्मचारी चयन प्रक्रियालाई थप प्रभावकारी बनाउन लिखित परीक्षा लिने तयारी गरिरहेका छौं।’
नेपाल रेल्वेमा जागिर खुल्यो, १२९ जना कर्मचारी माग
१२९ पदका लागि ३२ हजारभन्दा बढीले आवेदन दिएको भन्दै भट्टराईले अहिले उम्मेदवारहरुले बुझाएका शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका कागजात परीक्षण गर्ने कार्य भइरहेको जानकारी दिए।
‘कागजातहरुको विश्लेषण भइरहेको छ, कुन कर्मचारी भर्ना कुन प्रक्रियामा जाने छलफल भइरहेको छ,’ उनले भने,‘लिखित परीक्षा लिने कुरापनि भइरहेको छ। परीक्षा लिनुपर्ने भयो भने तयारीको लागि केही समय चाहिन्छ।’
यसअघि शैक्षिक योग्ता र मौखिकलाई आधार बनाइएपनि अब परीक्षातर्फ जाने कुरा भइरहेकोले निर्णय भएलगत्तै सूचना प्रकाशित गरिने उनले बताए। भट्टराईका अनुसार आवेदनकर्ताहरु मध्ये सबैभन्दा बढी ७० प्रतिशतले प्रदेश २ बाट दरखास्त दिएका छन्।
लिखित परिक्षा लिएर निष्पक्षताको आधारमा उम्मेदवार छनौट गर्न डा. बिनय पँजीयारले पहल थालेका थिए । उनले रेल्वेमा ६० प्रतिशत सिट स्थानीयलाई प्राथमिकताको आधारमा दिनुपर्ने माग गर्दै आएका थिए ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै डा. पँजीयारले भने, –“हाम्रो निरन्तरको प्रायस पश्चात् अन्तत नेपाल रेल्वे कम्पनी लिमिटेडले लिखित परीक्षा लिन निर्णय गरेको छ। यो सकारात्मक पहल हो।
तर, यतिले मात्र हुदैन , यो यहाँको स्थानिय प्रोजेक्ट भएकोले यहाँको युवाहरुलाइ समावेश गर्नको निम्ती बिशेष प्रावधान मिलाउन आवश्यक देखिन्छ। कम्तिमा ६० प्रतिशत सिट स्थानिय निवेदकको लागि सुरक्षित गर्न आवश्यक देखिन्छ । तर, फेरि पनि त्यो पूर्ति लिखित परीक्षाद्वारा नै हुनुपर्छ।
यो कदमले नेपाल रेल्वे प्रतिको विश्वास झन बढेको छ र नेपाल रेल्वेले कुनै पार्टी बिशेषको कार्यकर्ता भर्ती केन्द्र बनाउने खतरा पनि सखाप भएको छ।।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…