आजदेखि पितृपक्ष शुरु, जनकपुरको गँगासागरमा भीड
पितृपर्व मानिने यस पक्षमा भारतको बिहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ ।

२०७७ भदौ १७ बुधबार, बिहान १०:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु परम्पराको पितृपक्ष (सोह्र श्राद्ध) आजदेखि विधिवत रुपमा सुरु भएको छ । विहानैदेखि जनकपुरको गँगासागर लगायत पवित्र कुण्डहरुमा सोह्र श्राद्धको लागि स्नान गरिएको छ ।
तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ । हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ ।
यसपटक भने कोभिड–१९ महाव्याधिको सङ्क्रमण छल्न तराई मधेशमा जताततै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हुँदा घरबाट दिने तयारी सहित जनकपुरमा विभिन्न पोखरीको डिलबाट दिने गरेको देखिएको छ ।
यस पक्षभरि (पितृपक्ष) दिवङ्गत आत्माहरु मत्र्यलोक (पृथ्वी) मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा शुद्ध आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरुको भनाइ छ ।
पितृपर्व मानिने यस पक्षमा भारतको बिहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ । यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवङ्गतको सम्झना गर्ने गर्छन् ।
असोज कृष्ण प्रतिपदादेखि औँसीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्व हुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताहरुको भनाइ छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…