लकडाउनपछि सुनसान बन्यो मिर्चैया
लकडाउनको पहिलो दिन बिहीबार सर्वसाधारणको चहलपहल देखिएपनि आज दोश्रो दिन भने चहलपहल घटेको छ ।

२०७७ साउन २३ शुक्रबार, बिहान ११:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मिर्चैया नगरपालिकाले लगाएको १० दिने लकडाउनपछि मिर्चैया सुनसान देखिएको छ ।
लकडाउनको पहिलो दिन बिहीबार सर्वसाधारणको चहलपहल देखिएपनि आज दोश्रो दिन भने चहलपहल घटेको छ ।
नगरपालिकाले २२ गतेदेखि ३२ गतेसम्मका लागि लकडाउन गरेपछि मिर्चैयाको बजार क्षेत्रमा मानिसको चहलपहलमा कमी आएको हो । सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि बजार क्षेत्र भरिभराउ देखिएको थियो ।
तर, नगरपालिकाले लकडाउन गरेपछि अत्यावश्यक औषधी तथा अन्य पसल र सवारीसाधनबाहेक अन्य सबैथोक सञ्चालनमा रोक लगाइएको छ । लकडाउनपछि नगरभित्र अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।
मिर्चैयामा पहिलोपटक एकैदिन तीन जना संक्रमित भेटिएपछि बुधबारको नगरपालिकाको बैठकले बिहीबार बिहानदेखि लागू हुने गरि १० दिनका लागि नगर क्षेत्र लकडाउन गर्ने निर्णय गरेको थियो । नगरपालिकाले अत्यावश्यक कामका लागि बिहान १० बजेदेखि १२ बजेसम्मको समय तोकेको छ ।
नगरपालिकाद्धारा जारी लकडाउन पूर्ण कार्यान्यवन गराउन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी विभिन्न ठाउँमा परिचालन गरिएको मिर्चैयाका नगरप्रमुख श्रवण कुमार यादवले जानकारी दिए । उनले अत्यावश्यक कामबाहेक अनावश्यक रुपमा बाहिर हिँडडुल नगरिदिन तथा लकडाउनको पालना गरिदिन नगरबासीलाई आग्रहसमेत गरे ।
मिर्चैयामा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र संक्रमितको सम्पर्कमा आएका सबैको जाँच गरिने उनले जानकारी दिए । नगरमा संक्रमणको जोखिम बढेकाले सबैलाई सतर्क भएर बस्न मेयर यादवले अपिल गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…