प्रधानमन्त्री ओली र चिनियाँ राजदुत यान्छीको पुतला दहन
राजदुत यान्छीले नेपाल र भारतको धार्मिक सम्बन्धलाई खलल पारी राजनीतिक लाभ लिन खोजेको आरोप
२०७७ साउन ३ शनिबार, राति ९:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको गौरमा आज प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्छीको पुतला दहन गरिएको छ ।
हिन्दु धर्मावलम्बीहरुको आस्था मानिएको रामको जन्मस्थल नेपालको पर्सा स्थितको ठोरी नामक ठाउँमा रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिविरुद्ध रौहतटको सदरमुकाम गौरमा बिरोद्ध प्रदर्शनसँगै ओलि र चिनियाँ राजदूत होउ यान्छीको पुत्ला समेत दहन गरिएको छ ।
पौरानिक काल देखिको सम्बन्धमा चिसोपन उत्पन्न भएको भन्दै हिन्दु परिषद नेपाल रौतहट कार्य समिति द्धारा रौतहटको गौरमा विभिन्न नारा सहित प्रदर्शन गरेको छ ।
नेपाल भारतको धार्मिक सम्बन्ध माथि हचुवाको भरमा देशको गरिमामय पदमा बसेका एक जिम्मेवार व्यक्तिले हिन्दुहरुको आस्था तथा परापूर्वकालको पौराणिक ईतिहास उपर प्रहार गरेको भन्दै प्रम ओलीको पुतला दहन गरिएको हो ।
यसका साथै, नेपाल र भारतबीचको बेटी–रोटी सहित धार्मिक सम्बन्ध समेत चिनियाँ राजदुत यान्छीले बिगार्ने प्रयास गरेको तथा बिगारेको भन्दै उनको पनि पुतला दहन गरिएको हो । परिषदका कार्यकर्ताहरुले राजदुत यान्छीले नेपाल र भारतको धार्मिक सम्बन्धलाई खलल पारी राजनीतिक / कुटनितिक लाभ लिन खोजेको आरोप लगाए ।

विश्वका करोडौं हिन्दु धर्मावलम्बीको आस्थामाथि अहिलको दुई तिहाइको सरकार र प्रधानमन्त्री ओलीले ठेस पुर्याएको उनीहरुले बताएका छन् । कोणासभामा सम्बोधन गर्दै हिन्दु परिषदका जिल्ला सँयोजक ओम प्रसाद मधेसियाले प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको रहेको सम्बन्धलाई कुतर्क गरेर तोड्न खोजेको आरोप लगाए ।
प्रधानमन्त्री ओलीको बिरुद्धमा प्रदर्शन गर्नेहरुले हिन्दू धर्म माथिको आक्रमण बन्द गर, ओमकार परिवार एक होऔं, हिन्दू राष्ट्र कायम गर, धर्म बेच्न दलाल नेताहरु मुर्दाबाद, पुरुषोतम मर्यादा भगवान श्रीरामलाई बाडन पाईदैन, धर्म निरपेक्षताको आडमा गुण्डागर्दी बन्द गर, प्रधानमन्त्री केपी शर्मा ओली आफनो अभिव्यक्ति फिर्ताले, नेपाली नागरिकको पहिचान सहितको हिन्दू धर्म कायम गर, जय श्रीराम, जय सियाराम, नेपाल भारतको सम्बन्ध अमर रहे, भन्दै नारावाजी गरेका थिए ।
प्रदर्शनमा हिन्दू परिषद नेपाल रौतहटका प्रवक्ता अभिमनु कुमार पटेल, ग्रिसनन्दन सिंह, संजय कुमार यादव, राजीव कुमार सिंह, सत्येन्द्र प्रताप सिंह, मोसाफिर राय यादव, अरबिन्द कुमार यादव, अशोक सिंह, हनुमत यादव, कृष्ण यादव, जितन यादव लगायत समाजका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…