प्रदेश २ः लकडाउनको अवज्ञा गर्दै नागाबाबा दर्शनार्थीको भीड
सरकारले जारी गरेको लकडाउन बेवास्ता गरी यज्ञ भने लागिरहेको छ ।

२०७६ चैत २९ शनिबार, बिहान १०:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । बन्दाबन्दीको उल्लंघन गर्दै हरिपुर नगरपालिका वडा नं. १ हरिहरमाई क्षेत्रमा एक महिनादेखि धार्मिक मेला लागेको छ ।
गत फागुनको अन्तिम सातादेखि शुरु भएको मेला अहिले पनि जारी छ । मेलामा दैनिक सयभन्दा बढी भक्तजन आउने गरेका छन् ।
नागाबाबालाई हेर्न र दर्शन गर्न वरिपरि गाउँबाट दैनिक सयौं भक्तजन आउने गरेको स्थानीयवासी दुखा मण्डलले बताउनुभयो । मध्याह्न १२ बजे चर्को घाममा नागाबाबा एक महिनादेखि यज्ञसहित पञ्चधुनी तापेर बस्ने गरेका छन् ।
उनलाई दर्शन गर्दा इच्छाशक्ति प्राप्ति हुने र पाप नाश हुने भक्तजनको विश्वास छ । स्थानीय प्रशासनले पटकपटक यज्ञ रोक्न आग्रह गर्दासमेत नमानेपछि बुधबार राति इलाका प्रहरी कार्यालय मुर्तियाले डिजे र माइक जफत गरेको थियो ।
धार्मिक यज्ञमा धेरै मानिस एकैपटक जमघट हुँदा कोरोना भाइरसको संक्रमण हुने आशङ्काले स्थानीयवासी चिन्तित छन् ।
भीडभाडका कारण कोरोना संक्रमणको जोखिम उच्च रहेकाले धार्मिक मेला र यज्ञ स्थगन गर्नुपर्ने उनीहरुको माग छ ।
मेलास्थल राष्ट्रिय वन भएकाले अतिक्रमण गरी मेला लगाउन नहुने भनी एक पटक मेला हटाइएको सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत सुवासचन्द्र साहले बताउनुभयो ।
सरकारले जारी गरेको लकडाउन बेवास्ता गरी यज्ञ भने लागिरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…