धनुषाको दलित वस्तीमा डोजर, सिँगो वस्तीमै त्रास !
व्यापक मात्रामा प्रहरी परिचालन भएपछि स्थानीय सुकुम्वासी बस्तीमा त्रास छाएको छ।

२०७६ पुस २६ शनिबार, दिउँसो १:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक दलित वस्तीमा डोजर गएपछि त्यहाँका स्थानीयहरु त्रसित भएका छन् ।
धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाडी झिझाको ढाडीमा बसोवास गर्दै आएका एक वस्तीका १६ घर परिवारलाई आज (शनिबार) उजाड गर्न डोजर लिएर गएपछि उनीहरुको उठीवासको डरले त्रास छाएको छ । करिब ५ कठ्ठा ऐलानी (सरकारी) जग्गामा झण्डै ४० वर्षदेखि बसोवास गर्दै आईरहेका त्यहाँका स्थानीयहरुको घर टहरा भत्काउने भएपछि पुस माघको जाडोमा त्रास छाएको छ ।
उनीहरुको घर टहरामा भत्काउन दिउँसो १२ बजेदेखि नै डोजर लगाउन जिल्ला अदालत धनुषाको नेतृत्वमा प्रहरी, प्रशासन र स्थानीय सरकारको टोली त्यहाँ पुगेको छ। व्यापक मात्रामा प्रहरी परिचालन भएपछि स्थानीय सुकुम्वासी बस्तीमा त्रास छाएको छ।
यसअघि विदेह नगरपालिकाका मेयर बेचन दासले उनीहरुको अर्को व्यवस्था नगरेसम्म वस्ती उजाड गर्न नदिने बताएपनि आज डोजर गएपछि माहौल तातिएको हो । त्यहाँको माहौल उक्त वस्तीको लागि त्रासमय बनेको छ । सो बस्तीमा १६ परिवार रहेकोमा सबभन्दा बढी १३ घर मलाह परिवार रहेका छन्। उनीहरु तीन पुस्तादेखि सो ऐलानी जग्गामा घर बनाएर बस्दै आएको छ।
चारवर्ष अघि वस्तीकै पछाडि जग्गा रहेका रामसागर ठाकुर घर बनाउने क्रममा बस्तीको जग्गा माग गरेका थिए। बस्तीवालाले जग्गा नदिएपछि उनले एलानी जग्गा खाली गराई पाऊ भन्दै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरे। अदालतले ठाकुरको मुद्दामाथि सुनवाई गर्दै बस्ती खाली गराउन आदेश गरेको थियो। अदालतको सोही आदेश अनुसार सो बस्ती खाली गर्न लागिएको बताइएको छ।
तर, त्यहाँका वस्तीबालाहरुले त्यही डोजरमा किचिएर मर्ने चेतावनी समेत दिएका छन् । उनीहरुले त्यही जमिनमा किचिएर मर्ने मन्जुर तर घर भत्काउन नदिने अडान पनि लिएका छन् । पुस माघको जाडोमा घर भत्काउने भएपछि बालबच्चालाई कहाँ राख्ने भनेर चिन्ताले खाना समेत खाएको छैनन् । रामसागर ठाकुर वडा नं. १ का वडाध्यक्ष रामवृक्ष ठाकुरका सहोदर भाई हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…